काठमाडौं: चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेसीको सहयोगमा नेपालमा १४ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । २०७१ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त बनेकामध्ये गोरखा, दोलखा र काभ्रेमा तीन स्वास्थ्य केन्द्रको निर्माण पूरा भइसकेको तथा यसै महिनाको अन्त्यमा स्वास्थ्य मन्त्रालयलाई बुझाइने मेसीले आफ्नो फेसबुक पेजमार्फत जनाएका छन् ।
यसैगरी सात स्वास्थ्य केन्द्र अर्काे साताभित्र तथा बाँकी चार पनि वर्षायाम सुरु हुनुअघि नै पूरा भइसक्ने मेसीले जनाएका छन् । मेसीका अनुसार ती स्वास्थ्य केन्द्रहरू युनिसेफसँगको सहकार्यमा उनको फाउन्डेसन ‘फन्डासियोनलियोमेसी’ले निर्माण गरिरहेको हो ।‘नेपालमा लियो मेसी फाउन्डेसन र युनिसेफको परियोजना निकै राम्रोसँग अघि बढिरहेको छ’, मेसीले दुई दिनअघि आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘निकै खुसी लागेको छ । तीन स्वास्थ्य केन्द्रको निर्माण पूरा भइसकेको छ भने बाँकी ११ स्वास्थ केन्द्र निर्माण पूरा हुने क्रममा छन् ।’
मेसी फाउन्डेसनका अनुसार ती स्वास्थ्य केन्द्रहरू गोरखाको दर्बुङ, दोलखा सदरमुकाम र काभ्रेको देवाबुनी बालुवामा निर्माण भइरहेका छन् । उन्डेसनले ती सबै स्वास्थ्य केन्द्र प्रिफेबबाट निर्माण गरिएको जनाएको छ । ती स्वास्थ्य केन्द्रहरू सुविधासम्पन्न हुने पनि फाउन्डेसनले जनाएको छ ।
‘सबै स्वास्थ्य केन्द्रहरू वर्षायाम सुरु हुनुअघि नै निर्माण पूरा गरिसकिनेछ र लगत्तै उपकरणहरू पनि जडान गरिनेछ’, फाउन्डेसनले भनेको छ, ‘ती स्वास्थ्य केन्द्रलाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउन लियो मेसी फाउन्डेसनले दोब्बर मेहनत गरेको छ । ती स्वास्थ्य केन्द्रहरूले जिल्ला स्वास्थ्यचौकी र नेपालको स्वास्थ्य मन्त्रालयलाई ठूलो सहयोग पुर्याउनेछन् ।’
पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा स्थापित मेसीले नेपाललाई यसअघि पनि सहयोगको अपिल गरेका थिए । विशेषगरी मेसी र उनको फाउन्डेसनले विनाशकारी भूकम्पपछि नेपालका लागि सहयोग जुटाउन सुरु गरेको हो । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले गत वर्ष पनि आफ्नो फेसबुक पेजमार्फत भूकम्पबाट समस्यामा परेका नेपाली बालबालिकालाई सहयोग गर्न आह्वान गरेका थिए ।
‘नेपालका १० लाखभन्दा बढी बालबालिकालाई सहयोगको आवश्यकता रहेको छ’, त्यतिबेला उनले फेसबुक पेजमा लेखेका थिए, ‘उनीहरूलाई सहयोग अत्यावश्यक छ, युनिसेफमार्फत सहयोग गर्नुहोला ।’