फोटो फिचर सहित
कोपनहेगन । तमु समाज डेनमार्कले कोपनहेगनमा ल्होछार पर्व एक बिशेष कार्यक्रमको आयोजना गर्दै मनाएको छ। गुरुङ समाज डेनमार्कले ल्होछारको अबसरमा शनिबार ल्होछार बिशेष कार्यक्रम आयोजना गरेको हो।
नेपाली दुतावासका तृतीय सचीव माधव राज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डेनमार्क स्थित संघ सस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका कोषाध्यक्ष कमल गुरुङले सबैलाई स्वागत गरेका थिए भने सदस्य निर्माण गुरुङले ल्होछार पर्वको बारेमा बताएका थिए ।
समाजका अध्यक्ष लाल बहादुर गुरुङले ल्होछारको उपलक्ष्य शुभ-कामना ब्यक्त गर्दै सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेका थिए। समाजले बिगतका वर्षहरु देखि नै बिबिध कार्यक्रमहरु गर्दै ल्होछार मनाउँदै आएको छ। गाउँघरमा गरिने पिकनिकको झल्को मेट्ने गरी तयार भएका परिकारहरुको स्बादमा सहभागिहरु रमाएका थिए। ल्होछार तथा तमु गीत संगीतमा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरे। निकै मेहनत गरेर प्रश्तुत गरिएको सांस्कृतिक कार्यक्रममा ओमी गुरुङ, मिनु गुरुङ,
रक्षा पुन गुरुङ, सितल गुरुङ, सुजाता गुरुङ, प्रबीना गुरुङ, कविता गुरुङ, सुमी गुरुङ, क्रिस्टिना गुरुङ,ममता खरेल, हरि गुरुङ तथा कमल गुरुङले नृत्य प्रश्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी काफ्ले, एन आर एन डेनमार्कक अध्यक्ष दिपेन्द्र चुडाल, क्रिएटिभ नेपलीज वुमन इन डेनमार्कका अध्यक्ष डा. गरिमा घलेले शुभकामा दिएका थिए भने नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचीव प्रकाश ढकालले नेपालमा गुरुङ समुदायको भाषा र मूल थलोको बारेमा बताएका थिए ।
औपचारिक र अनौपचारिक गरी दुइ भागमा संचालन भएको कार्यक्रमको संचालन समाजका सचीव सोम गुरुङले गरेका थिए । उनको संचालन उत्कृष्ट रहेको थियो ।
यसैगरी सोहि कार्यक्रममा गुरुङ समुदायको परम्परा स्याईस्याई समेत गरिएको थियो । जसमा नवविवाहित दम्पत्तीहरुको सुखद जीवनको कामना र परम्परा अनुसार चरा वर्ग पर्नेहरुको लागि जेष्ठ सदस्य रमेश गुरुङले स्याईस्याई गरेका थिए ।
गुरुङ समाज डेनमार्कले विगत केहि वर्षहरुदेखी हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको छ। कार्यक्रममा बिङ्गो खेल खेलाइएको थियो जुन कार्यक्रममा प्रमुख आकर्षण बनेको थियो ।बिङ्गो खेलको संचालन अनित घतानेले गरेका थिए । बिङ्गो खेलबाट आयोजकले करिब ४ हजार डेनिस क्रोनरको पुरस्कार वितरण गरेको थियो ।