आज शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
नयाँ पत्रिका दैनिकले निर्वाचन र संविधान संशोधन विधेयक संसदबाटै ओझेलमा परेकोसँगै ३७ न्यायाधीश र ७० सरकारी वकिल रिक्त रहेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । लगानी जुटाउन नसक्दा हेटौंडा सुरुङ मार्ग अलपत्र परेको समाचारलाई पनि नयाँ पत्रिकाले फ्रन्टपेजमा कभरेज गरेको छ ।
राजधानी दैनिकले न्यायाधीश नै अन्यायमा परेको, सरकारको प्राथमिकतामा निर्वाचन नपरेको र स्वस्थ्यकर्मीलाई अतिरिक्त भत्ताको सुविधा दिने भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले हुलाकी राजमार्ग बनिनसक्दै उद्घाटन भएको, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले कानुनी सल्लाहकार नराख्न चेतावनी दिएको र स्थानीय तहको सीमांकनमा मन्त्रीहरु नै असन्तुष्ट भएको समाचारलाई प्राथमिकता दिएको छ ।
नागरिक दैनिकले चुनावको मिति कानुनमै सीमित भएको, पीडितका नाममा जग्गा बाँड्ने खेल भएको र न्यायधीश नै अन्याय परेको विषयका समाचारलाई महत्व दिएको छ ।
कान्तिपुर दैनिकले सरकारमा मन्त्री थपिनुको कारणबारे विश्लेषणात्मक समाचारलाई मुख्य बनाएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आज सपथ लिने, भारतले एयर मार्सललाई बास मागेको र अन्तःशुल्क स्टिकर खुलेयाम दुरुपयोग भएको समाचारलाई प्राथमिकता दिएको छ ।
गोरखापत्र दैनिकले राष्ट्रिय किसान आयोग गठन हुने र प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताएको समाचारलाई महत्व दिएको छ ।
नेपाल समाचारपत्र दैनिकले राणाकालिन दरबार भत्काइँदै र निर्वाचन नभए माघ ७ गतेपछिको राजनीतिक स्थितिबारे विश्लेषण गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।