बुधबार बिहानीपख अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामले समाजिक सञ्जाल भरिएपछि सर्लाहीका सुजन कार्कीले फोनवार्तामा टिप्पणी गरे, ‘अमेरिका २१ औंबाट १९ औं शताब्दीतिर मोडियो । अब यहाँ गरिखान मुस्किल त हुने त होइन ?’ यो जिज्ञासा अहिले आम बनेको छ । यसअघि पनि अनुदारवादीले हवाइट हाउस जिते पनि यसअघि यस्तो माहोल सिर्जना भएको थिएन ।
डोनाल्ड ट्रम्पको जितपछि एउटा प्रश्न उब्जिएको छ– अब के हुन्छ अमेरिकामा ? यो सरोकार बहुसंख्यक समुदायको होइन, अल्पसंख्यकको हो । किनकि ट्रम्पले चुनावमा अल्पसंख्यक लक्षित विभाजनको राजनीतिको बिजारोपण गरेका छन्, जसले उनलाई हवाइट हाउस पुग्ने ऐतिहासिक जित दिलाएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रश्न यहाँनिर उठ्छ, हवाइट हाउसको सिंहासन सम्हालेपछि राष्ट्रपति ट्रम्पको रवैया फेरिएला ? उनी सभ्य, शालीन राष्ट्रपति बन्लान् वा चुनावी माहोलको त्यो ताण्डव फेरि दोहोरिएला ? नीति/नियममा त्यसको प्रभाव कति पर्ला ?
दुविधापूर्ण स्थिति छ । प्रश्नहरू अनुत्तरित छन् । किनकि करिब डेढ वर्षको चुनावी अभियानमा ट्रम्पले आफूलाई ‘अपरिवर्तनशील’, अटेरी व्यक्तिका रूपमा परिचित मात्र गराएनन्, बिजेताकै रूपमा प्रस्तुत गरे । अन्तत: त्यही शैलीले उनलाई अमेरिकाको ४५ औं राष्ट्रपति बनायो । अल्पसंख्यक समुदायप्रति ट्रम्पको त्यो अहम् प्रदर्शन शृंखलाले ‘श्वेत अतिवाद’ अर्थात् ‘भोटिङ ब्लक’ तान्न सफल रह्यो ।
चुनावी अभियानमा ट्रम्पले मात्र एक पटक आफ्नो गल्तीमा क्षमायाचना गरे । विवाहित महिलाबारे आफ्नो तुच्छ अभिव्यक्तिको अडियो टेप सार्वजनिक भएपछि ट्रम्पले गल्ती स्वीकारे । किनकि, उनको चुनावी अभियान त्यसबाट प्रभावित बन्यो । मेक्सिकन आप्रवासीलाई बलात्कारीको संज्ञा होस् वा मुस्लिमलाई अमेरिका प्रवेशमा बन्देज लगाउने कुरा वा महिलामाथिको दुव्र्यवहार होस् वा शारीरिक अपांगतामाथिको उपहास, ट्रम्पले एकखाले राजनीतिक अतिवादको प्रतिनिधित्व गर्छन् ।
उनी धनाढ्यको कर कटौतीका पक्षधर हुन् । उनी एकातिर धनाढ्यलाई करमा सहुलियत दिन चाहन्छन् भने अर्कातिर कम आय भएका वर्ग लक्षित स्वास्थ्य सेवालाई फिर्ता गर्ने उद्घोष गरेका छन् । यसबाट अमेरिकामा रहेका नेपाली आप्रवासी प्रभावित नहुने प्रश्न उठदैन । किनकि, संसारको जुनै कुनाबाट आएको किन नहोस्, अमेरिकामा पहिलो पुस्ताका आप्रवासीका कथा–व्यथा लगभग उस्तै छन् ।