सेप्टेम्बर २३, ब्लक बस्टर चलचित्र लुट मार्फत चर्चित बनेका ‘हाकु काले’ उर्फ सौगात मल्ल र सुपर हिट चलचित्र रेशम फिलिलिका ‘हरिया’ उर्फ कामेश्वर चौरासिया नयाँ बन्ने चलचित्र लालपुर्जामा अनुबन्धित भएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र लालपुर्जाको निर्माण घोषणा गरिएको छ। चलचित्रमा माधव वाग्ले र टेकन खडकाको लगानी रहनेछ भने चलचित्रको निर्देशन भने यस अघि छड्के निर्देशन गरेका निगम श्रेष्ठले गर्ने भएका छन्।
लम्जुङ्गको एउटा गाउँमा छायांकन गर्न लागिएको चलचित्रमा दुई जना मित र उनीहरुको लालपूर्जाको बिषयमा हुने लडाइ नै चलचित्रको प्रमुख बिषय रहेको बताउँदै कार्यक्रममा उक्त चलचित्रको कथामा मित बन्न लागेका दुई पात्र सौगात मल्ल र कामेश्वर चौरासियालेले एक अर्कामा टाउको ठोकाउँदै माला लगाएर मित बनेका थिए।
असोज १० बाट छायांकनमा जान लागेको चलचित्रको अन्य कलाकारहरुमा मेनका प्रधान, बिपिन कार्की, हरिहर शर्मा लगायत नव अभिनेत्रीको रुपमा मिरुना मगरले काम गर्ने भएकी छन्।