गुणराज शर्मा ,स्विजरल्याण्ड / स्विजरल्याण्ड निवासी उदयमान गायक एंव संगीतकार सुभाष सुन्दासको पहिलो एल्बम “उडन देउ“को बिमोचन भएको छ। तमु परिवार स्विजरल्याण्डले राजधानी बर्नमा आयोजना गरेको ल्होछार कार्यक्रममा एल्बमको बिमोचन गरिएको हो। स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल ,गैर आवासिय नेपाली संघका प्रमुख संरक्षक एंव पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठ संगै आईसीसी सदस्य विनय श्रेष्ठ ,भुतपूर्व आईसीसी सदस्य पितम गुरुङले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन्।
सन्जु गुरुङले संचालन गर्नु भएको उक्त विमोचन कार्यक्रममा गायक सुभास सुन्दासले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो एल्वमका गीतहरु प्रस्तुत गरेका थिए । सोलुखुम्बुको लुक्लामा जन्मेर अहिले स्विजरल्याण्डमा बस्दै आएका गायक सुभाष स्कुल पढ्दा उनको पाइलट बन्ने सपना भए पनि आज उनि एउटा गायकको रुपमा स्थापित हुन लागेका छन् ।
विदेशमा बसेर पनि, व्यस्त समय संगै नेपाली गीत संगीतलाई संसार भर चिनाउन लागेका उनले पहिलो कोसेली “उड्न देऊ” दर्शक श्रोता माँझ ल्याएका छन्।
गैर आवासीय नेपाली संघ स्विजरल्याण्डका आईसीसी सदस्य बिनय श्रेष्ठले लेखेका दुई गीतहरु सहित उनको एल्बममा माया हो,, नक्कली, ,उड्न देउ, , आधा गाग्रो,, आमा,, नाच्यो झिल्के, ,तिमि छौ गरि सात वटा गीतहरु समाबेश गरिएका छन्।
भिडियो सहित सार्वजनिक भएको छोटो समय मै ”माया हो” बोलको गीत नेपाली दर्शकहरु माँझ लोकप्रिय बन्दै गएको छ भने स्विजरल्याण्डका नेपाली विच चर्चित रहेका गायक सुन्दास डेनमार्क र जर्मनीमा आफ्नो जोडदार प्रस्तुती राखेर त्यहाका नेपालीको मन जितिसकेका छन्। युरोपका विभिन्न देशबाट कार्यक्रमका लागि कुराकानी भएको बताउँदै गायक सुन्दासले छिट्टै आफ्नो नयाँ एल्वम संगै युरोप यात्रामा निस्कने सोच बनाएका छन्।