जोर-बिजोरका आधारमा कास्कीमा बुधबार पेट्रोल वितरण हुने


सन्देश श्रेष्ठ
पोखरा /  जिल्ला आपूर्ति समिति कास्कीले पोखरा र लेखनाथमा दुई पाङग्रे सवारी साधनमा बुधबार पेट्रोल वितरण गर्ने निर्णय गरेको छ ।पेट्रोलियम पदार्थ वितरण व्यवस्थित नभएको सर्वसाधारणबाट गुनासो पटक-पटक आएपछि प्रशासनले यो पटक मोटरसाइकल र स्कुटरको जोर, विजोर नम्बरका आधारमा पेट्रोल वितरण गर्न पम्पहरु तोकेको छ । बुधबार लेखनाथ र पोखराका १५ वटा पेट्रोल पम्पबाट ९० हजार पेट्रोल दुई पाङ्ग्रे सवारी साधनमा वितरण गरिने आपूर्ति समितिले जनाएको छ ।

प्रशासनका अनुसार वेलकम ट्रेडर्स लेखनाथ, शुभ-जगदम्बा आयल स्टोर्स लेखनाथ, ऋषि एण्ड व्रदर्श साझा बुद्धचोक, पञ्चरत्न आयल स्टोर्स पृथ्वीचोक, अन्नपूर्ण आयल स्टोर्स विरौटा, कालिका पेट्रोल पम्प जिरोकिमी र उत्तम आयल स्टोर्स विन्धवासिनीबाट जोर नम्बरको मोटरसाइकल र स्कुटरबाट पेट्रोल वितरण गरिनेछ ।

त्यस्तै पृथ्वी राजमार्ग पेट्रोलियम प्रालि लेखनाथ, ओम पेट्रोलियम ट्रेडर्स चाउथे, शारदा आयल स्टोर्स रङ्गशाला गेट, कमला आयल स्टोर्स नागढुङ्गा, न्यू विवेक आयल स्टोर्स नयाँबजार, सागर आयल स्टोर्स बागलुङ बसपार्क र थापा आयल स्टोर्स हेम्जाबाट बिजोर नम्बरका मोटरसाइकल र स्कुटरलाई पेट्रोल वितरण गरिनेछ ।

सरकारी, सार्वजनिक संस्थान, सुरक्षाकर्मी, कुटनीतिक नियोग र संचारकर्मीको मोटरसाइकल र स्कुटरलाई सशस्त्र प्रहरीले सञ्चालन गरेको कालिका फ्यूल स्टेन मालेपाटनबाट पेट्रोल वितरण गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । सञ्चारकर्मीका लागि सूचना विभागको रातो कार्डका आधारमा मोटरसाइकल र स्कुटरलाई ४ सय रुपैयाँ बराबरको पेट्रोल वितरण गरिनेछ । विहान ८ बजेदेखि नै पेट्रोल वितरण गर्न प्रशासनले पम्पहरुलाई निर्देशन दिएको छ ।

चार पाङ्ग्रे सवारी साधनलाई भने विहीबार मात्रै इन्धन वितरण गर्ने छ । कालो र रातो प्लेटका सवारी साधनलाई छुट्टाछुट्टै पेट्रोल पम्पबाट इन्धन वितरण हुनेछ । रातो प्लेटका सवारी साधनका लागि पश्चिमाञ्चल ट्रेडर्स, लेखनाथ, हिमालयन पेट्रोल पम्प नागढुङ्गा, जगदम्बा आयल स्टोर्स, विश्वास आयल स्टोर्स मालेपाटन र जयबुद्ध आयल स्टोर्स हेम्जाबाट पेट्रोल वितरण गरिने छ ।

कालो प्लेटका सवारी साधनका लागि जुपिटर टे्रडर्स लेखनाथ, मनकामना आयल स्टोर्स बुद्धचोक, कमला आयल स्टोर्स नागढुङ्गा, अटो क्लीन नयाँबजार, रानीपौवा आयल स्टोर्स रानीपौवा, बराल आयल स्टोर्स मासबार, पराजुली आयल स्टोर्स सिम्पानीबाट पेट्रोल वितरण गरिनेछ ।

कालिका फ्यूल स्टेसन मालेपाटनबाट पर्यटन, सेतो प्लेट, पहेलो प्लेट, कुटनीतिक नियोगका सवारी साधनलाई पेट्रोल वितरण गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । चार पाङ्ग्रे सवारी सधानलाई १ हजार ५ सय रुपैयाँको पेट्रोल वितरण गर्न प्रशासनले निर्देशन दिएको छ ।