स्याङ्जा माझकोट गाविसको चिनारी गीतको भिडियो सार्वजनिक


पोखरा,/ स्याङ्जा माझकोट गाविसभित्र रहेका गाऊँहरुलाई समेटेर निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको छ । व्यवस्थापिका सांसद कमलप्रसाद पंगेनीको हातबाट निर्माण यूनिटले भिडियो सार्वजनिक गरेको हो । माझकोटको राम्चेमा लागेको शिवजी मेलाको अवसरमा त्यहाँका स्थानियहरुमाझ भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेरिसकेपछि आफ्नै गाऊँको गीत निकै सुन्दर बनेको माझकोटबासीहरुले प्रतिक्रिया दिए । ‘गाऊँको बारेमा बनेको गीत र यसको भिडियो हेर्न पाउँदा निकै खुशि लाग्यो ।’ माझकोट शिवालय सम्पर्क समिति पोखराका सचिव विष्णुमाया गुरुङले भनिन्–‘यसले देश विदेशमा गाऊँको पर्यटन प्रवद्र्धन गर्नेमा हामी ढुक्क छौँ ।’

माझकोट गाविसको पर्यटन प्रवद्र्धनका लागि गाऊँलेहरु आफैँ मिलेर भिडियो निर्माण गरेका हुन् । सार्वजनिक भिडियोलाई माझकोटकै भुपाल गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा निशा गुरुङ मुख्य भुमिकामा देखिएकी छन् ।

धनु गुरुङको शब्द रहेको गीतलाई नरजंग गुरुङले संगीत भरेका हुन् भने गायिका निशा गुरुङले गीत गाएकी हुन् । भिडियोलाई मिलन शंकरले खिचेका हुन् भने रोहन नेपालीले कोरियोग्राफि गरेका हुन् । भुपाल क्रियशनको प्रस्तुती रहेको भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका हुन् । भिडियो निर्माणमा दुई लाख रुपैयाँ खर्च भएको यूनिटले जनाएको छ ।

भिडियो निर्माणको लागि ओम गुरुङको सँयोकत्वमा माझकोट गाऊँ चिनारी गीत तथा भिडियो निर्माण समिति समेत गठन भएको थियो ।

मिलेनियम ट्रेक अन्तरगत पर्ने माझकोट गाविस बाईसे चौबिसे राज्य हुने बेलामा भिरकोट आर्थर भनेर चिनिन्थ्यो ।