राजाराम पौडेल/पोखरा
हामी नेपाली आफ्नो परम्परागत संस्कृतिमा गर्व गर्छौ । यहि संस्कृतिका कारण नेपालीको बेग्लै पहिचान विश्वसामु बनेको छ । हुनपनि यसैको फलस्वरुप नेपाली कला संस्कृतिमा रम्न कयौ विदेशि नेपाल आउने गर्दछन् । तर पछिल्लो समयमा हामी नेपालीले गर्व महसुस गर्ने त्यस्ता संस्कृति विस्तारै हराउन थालेका छन् । यस्को मुख्य कारक पश्चिमेली संस्कृतिको प्रवेश नेपालमा बढ्दै जानु र परम्परागत संस्कृति संरक्षणमा हामी नेपालीले ध्यान नदिनु नै हो ।
यस्को प्रमाण हाम्रो घर आगनमा आइरहेको नेपालीहरुको साँस्कृतिक पर्व तिहारमा खेलिने देउसी भैलोमा प्रष्ट देख्न सकिन्छ । तिहारलाई नेपाली मौलीक संस्कृति झल्काउने पर्वका रुपमा लिने गरिन्छ । झिलिमिलि पर्वको रुपमा परिचित तिहार पर्वको रमाइलो पक्ष देउसी र भैलो खेल्ने पनि हो । तर अहिले आएर देउसी र भैलोमा विकृति थपिएको छ । कला र संंस्कृतिको जर्गेना गर्ने उद्देश्यले देउसी खेल्ने भए पनि हाल खेलिएका देउसी भैलो हेर्दा कमाउने मेसोको रुपमा यसलाई प्रयोग गरेको प्रष्ट रुपमा देखिन्छ ।
वास्तवमा भन्ने हो भने समूहमा मिलेर गाउने गीत हो देउसी र भैलो । यस्मा एकजना भट्याउने हुन्छ भने अन्य समूहका साथीहरुले देउसी अथवा भैलो भनेर भट्याउनेलाई साथ दिने गर्छन् । खासगरी देउसी भैलोमार्फत देउसी खेल्न गएका घरमा आशिष दिने तथा शुभकामना दिने गरिन्छ भने घरधनीले फलफूल, रोटी, दक्षिणा दिने गर्छन् । यो परम्परा अब लोप हुने अवस्थामा पुगिसकेको छ ।
कारण, देउसी र भैलोको नाममा विकृति विसंगती ह्वात्तै बढेको छ । परम्परागत तरीकाले देउसी खेल्नुको सट्टा पश्चिमेली फेसन गर्दै उफ्रने गर्न थालेका छन् । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड गर्नसमेत पछि पर्देनन् उनीहरु । जसले धेरै पैसा दिन सक्छ, उसका घरमा मात्र जाने गर्न थालेका छन् । कति त देउसी र भैलोको नाउँमा घरमानै बसीबसी पैसा उठाउनसमेत पछि पर्दैनन् ।
मदिरा सेवन गरी देउसी भैलो खेल्ने, समूह समूह बीच हुने झगडामा समेत बृद्धि भएको छ । पहिला–पहिला यमपञ्चकको ५ दिनमध्ये पछिल्लो ३ दिनसम्म देउसी भैलो खेल्ने गरिन्थ्यो तर आजकाल समय पनि बढाइदैछ । त्यो पनि संस्कृति संरक्षणको नाउँमा पैसा कुम्ल्याउनका लागि । आधुनिक शैलीमा देउसी भैलो खेल्नेक्रम बढे पनि केही संस्थाले परम्परागत संस्कृतिको संरक्षण गरी सन्देश समेत दिन नखोजेका भने होइनन् ।
यसैक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा एकदिने देउसी भैलो कार्यक्रम आयोजना गर्दै छ । आफ्ना शुभचिन्तक र लोकप्रेमिलाई बोलाएर पार्टी प्यालेसमा देउसी भैलो खेल्ने तयारी आफुहरुले गरेको प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालले बताए । ‘कलाकार कल्याणकारी कोषमा रकम वृद्धि गर्नलागि भन्दै प्रतिष्ठानले मण्डव बनाएर देउसी भैलो खेलेर पैसा संकलन गर्ने छ’ उनले भने । हाल प्रतिष्ठान गण्डकीको कलाकार कल्याणकारी कोषमा २ लाख ११ हजार १ सय ११ रुपैया रहेको उनले जनाए । ‘पाटी प्यालेसमा कार्यक्रम गरिएपनि पुरानै झल्को दिने तयारी हाम्रो छ’ उनले बताए ।
त्यसो त गुरुङ फिल्म एसोशिएसन जिफानले सधाझै यो वर्ष पनि तिहारमा देउसी भैलो खेल्ने भएको छ । देउसी भैलो खेल्नका लागि कार्तिक २५, २६ र २७ गते गरी तीन दिने कार्यक्रम तय गरिएको जिफानका अध्यक्ष वेद बहादुर गुरुङ श्यामले बताए । ‘संस्कृतिको जगेर्नासँगै रमाइलो र आर्थीक संकलन गर्ने उद्धेश्य हाम्रो हो’ उनले भने । इन्धन अभाव लगायतका कारणले गर्दा घरदैलोमानै पुगेर कार्यक्रम गर्न नसकिने भन्दै यो पटक पार्टी प्यालेसमा विभिन्न व्यक्तिलाई बोलाएर देउसी खेल्ने उनको भनाइ छ ।
मौलीक तरिकाले देउसी भैलो खेल्ने संस्कृती हराएकोमा उनी चिन्तित छन् । यता पोखराको रामबजारमा रामबजार युथ क्लवले आयोजना गरेको रामबजार महोत्सवमा देउसी भैलो प्रतियोगीताको समेत आयोजना गरिदैछ । देउसी भैलो संस्कृति संरक्षणका लागि प्रतियोगीताको आयोजना गरिएको क्लवले जनाएको छ ।
तिहारका अवसरमा खेलिने देउसी र भैलोले नेपाली संस्कृतीमा विशेष महत्व राख्दछ । कार्तिक कृष्ण त्रयोदशीकोदेखि कार्तिक शुल्क द्धितिया सम्म पाँचदिनसम्म मनाइने यो चाडलाई यमपञ्चक पनि भनिन्छ । देउसी खेल्दा परम्परागत भेषभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाउने गरिन्थ्यो तर हाल यो समेत लोप हँुदैगएको छ ।देउसी खेल्ने परम्पराको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा पुराणमा एउटा कथा उल्लेख छ । जसमा दैत्यका राजा बली सत्यवादी र दानी दुवै थिए ।
आफ्नो दानशीलतामा एकदमै घमण्ड गर्ने बलीको घमण्डलाई हटाउन भगवान् विष्णुले वामन अवतार धारण गरी बली राजालाई जे मागे पनि दिने बाचा गर्न बाध्य पार्छन् । वाचाअनुसार भगवान विष्णुले मागेको तीन पाइला जमीनमध्ये दुई पाइलामा नै सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यतिबेला विष्णुले देऊ शीर भनि मागेकोले अप्रभंश भई देउसि रे को चलन चलेको भन्ने गरिन्छ ।
आफ्नो सर्वस्व विष्णुले हरण गरेपछि पाताल पुगेका बलीलाई विष्णुले वर्षमा ३ दिन पृथ्वीमा तेरो आधिपत्य रहनेछ भन्ने वरदान दिएकोले देउसी खेल्ने चलन चलाएका हुन् भन्ने धार्मिक विश्वास रहीआएको छ । त्यसैले देउसी र भैलोमा भट्याउने क्रममा बलि राजाले पठाएको प्रसङ् जोड्दै उनको वर्णन गर्ने गरिन्छ ।
दाजुभाई र दिदी–बहिनीबिचको मिलनको पर्वरुपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा लगायतका परम्परागत बाजा बजाई खेल्ने गरेको भैलोमा आजकाल हिन्दी तथा अँग्रेजी गीतको बाहुल्यता रहेकोले धेरै चिन्तित छन् । सस्कृति संरक्षणको नाउँमा देउसी भैलो खेल्ने गरेको बताउने गरेका हरुले समेत परम्परागत शैलीलाई अपनाउन सकेका छैन्न् ।
स्वदेशमा मात्र हैन विदेशमा रहेका नेपालीहरुले देउसी र भैलोको संरक्षणको लागि लागीपरेको बताए पनि यसमा विदेशी संस्कृतिको हावी तथा पैसा कमाउने मेसोभन्दा पृथक बन्न सकेको देखिदैन । यस्तै चाला हो भने केही वर्षपछि देउसी र भैलो भनेको हिन्दी र अँग्रेजी गीतमा नाच्ने अनि पैसा असुल्ने पर्व हो भनी भावी–सन्ततीले नबुझ्लान् भन्न सकिदैन ।
त्यसोत देउसी भैलोमार्फत् परम्परागत सँस्कृति बचाउनका लागि केही समूह लाग्दै नलागेका भने होइनन् । यस्ता समुहले स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरुले समेत देउसी भैलोको संरक्षणकालागि पहल गरीरहेका छन् ।