अल्ट्रा बिश्व उपविजेता मिरा राईलाई भोजपुर प्रतिभा पुरस्कार दिईने


लण्डन/ बार्सिलोना बागामा सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिला तर्फ बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राईलाई भोजपुर प्रतिभा पुरस्कारले सम्मान गरिने भएको छ।

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतकाले राईको प्रतिभाको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको हो। राईलाई केहि महिना पछि काठमाडौमा कार्यक्रमको आयोजना गरि ताम्रपत्र सहित ३५ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

राईलाई केहि दिन अघि स्पेनका नेपालीहरुले पनि सम्मान सहित करिब २ लाख रुपैयाँ प्रदान गरे। स्पेनको प्रतियोगिता सकेर मंगलबार नै नेपाल पुगि सकेकी राईलाई नेपाल सरकारले भने कुनै चासो देखाएको छैन।

भोजपुरमा जन्मिएकी मिरा राईले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छिन्।उनले भर्खरै बार्सिलोना बागामा सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिलातर्फ विश्व उपविजेता बनेकी छिन् । हिमालयन, मुस्ताङ र मनास्लु, इटाली र हङकङमा भएका अल्ट्रा दौडमा ६ पटक विजेता बनेकी राईले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएका १४ वटा अल्ट्रा दौडमध्ये आठ वटामा उपाधि चुमेकी छिन्।

उनले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान विश्वभर फैलाएकी थिइन् । अल्ट्रा दौड शुरु गरेको २ वर्षमा नै चर्चा कमाएकी राईले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको एक वर्षमा नै यति ठूलो सफलता हात पारेकी हुन्।

प्रतिष्ठानले कवि मन्जुललाई ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गर्ने जनाएको छ।