पोखराका एजेण्डा बजेटमा परेनन् ,पोखरेली भन्छन्- पूर्वाग्रही भयो


सन्देश श्रेष्ठ
पोखरा । राष्ट्रपति डा. रामवरण यादवले संसद बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा परेका एजेण्डा बजेटमा नपरेपछि पोखरेलीहरु असन्तुष्ट बनेका छन् । उनीहरुले बजेट पूर्वाग्रही भएको टिप्पणी समेत गरे ।

नीति तथा कार्यक्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भ यसै वर्ष गर्ने, पोखरा चक्रपथ निर्माण र यशोधरा वाटिका निर्माण गर्ने उल्लेख थियो ।
तर मंगलवार सार्वजनिक आर्थिक वर्ष ०७२/७३ को बजेटमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने वाहेक अन्य एजेण्डा परेनन् ।

विमानस्थल बन्नेमा शंका

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नीति तथा कार्यक्रम र बजेटमा तालमेल नमिलेको टिप्पणी गरे । नीति तथा कार्यक्रममा समावेश एजेण्डा बजेटमा उल्लेख नहुनु भनेको कार्यान्वयनमा आउँदैन भनेर बुझ्नुपर्ने बताउँदै उनले यद्यपी रातो कितावमा समावेश छ/छैन हेरेपछि मात्रै थप भन्न सकिने बताए ।

मुल्मीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे बजेटमा विगत ३ वर्षदेखि उल्लेख भएपनि कार्यान्वयनमा नआएको र यो वर्षको बजेटमा पनि प्रतिबद्धता नगरिएकाले अझैपनि विमानस्थल बन्नेमा शंका रहेको बताए ।

मुल्मीले बजेट राजनीतिबाट प्रभावित रहेको बताउँदै निर्वाचन क्षेत्र विकासका लागि सभासदलाई दिइने बजेट बढाउनु त्यसको उदाहरण भएको बताए । उनले प्रत्येक गाविसमा सडक र विद्युत पुर्‍याउने योजना महत्वाकांक्षी रहेको टिप्पणी गर्दै त्यो असम्भव रहेको बताए । उनले लगानी क्षेत्रका लागि बजेट उत्साहजनक नभएको पनि बताए ।

बजेट पूर्वाग्रही

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरा क्षेत्रीय विमानस्थल निर्माण निर्माणका लागि बजेट छुट्याइनु सकारात्मक भएको बताए । उनले अब कार्यान्वयन पक्ष प्रभावकारी भयो भने मात्रै त्यसको अर्थ रहने बताए ।

नीति तथा कार्यक्रममा उल्लेख पोखरा चक्रपथ निर्माण र यशोधरा वाटिका निर्माणका लागि बजेट नछुट्याएकोप्रति भने उनले असन्तुष्टि व्यक्त गरे । पर्यटन वोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी बासु त्रिपाठीले बजेट पोखराका लागि पूर्वाग्रही देखिएको आरोप लगाए । उनले पोखराका लागि र समग्र नेपालकै पर्यटनका लागि बजेट अनुदार देखिएको बताए ।

नीति तथा कार्यक्रममा समावेश पोखरा चक्रपथ र यशोधरा वाटिका निर्माण नै बजेटमा नपार्नु, पर्यटक आगमनमा बृद्धि गर्न निःशुल्क भिसा, पदयात्रा प्रवेश निःशुल्क गर्ने, पोखरालाई विशेष पर्यटन प्याकेजका रुपमा ल्याउनुपर्ने, फेवाताल संरक्षण र विकास गर्नेबारे उल्लेख नभएकाले पोखरेली र पर्यटन व्यवसायी निराश बनेको बताए ।