एनआरएनए अध्यक्ष बन्न मनोनयन शुल्क मात्रै १० लाख रुपैयाँ 


बार्सिलोना।गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बन्नका लागि १० लाख रुपैयाँ मनोनयन शुल्क लाग्ने भएको छ। संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा पनि गत अधिबेशनकै शुल्क कायम भएपछि चर्को रकम लाग्ने भएको हो। 

अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षहरु तथा महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह-कोषाध्यक्ष ४ लाख रुपैयाँ यसपटक पनि कायम नै रहने भएको हो।

महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजक तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप-संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजक दुई लाख ५० हजार रुपैयाँ र आईसीसी सदस्यहरुका लागि एक लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ।

मध्यम वर्गका एनआरएनहरुको मुख्य पदमा रही काम गर्ने अभिलाषा रहेपनि दर्ता शुल्क चर्को भएका कारण बन्चित रहेको गुनासो सुनिदै आएको थियो । संघको नवौ महाधिवेशनमा उम्मेदवार मनोनयन शुल्क दोब्बर गरिएको थियो। सोहि शुल्कलाई दशौं महाधिबेशनमा पनि कायम गरिएको छ।