खिर चढाएर पुजा गर्न भाटखोलामा छुट्टै कुलायन मन्दिर


कृष्ण रानाभाट /पोखरा

स्याङ्जा जिल्लाको भाटखोला गाविसका देवाश्री गोत्रीय भाटबन्धुहरुले कुल पुजा गर्न कुलायन मन्दिरको बुधबार सु बोधराज रानाभाटले शिलान्यास गरेका छन् ।कुल पुजामा बलि प्रथालाई प्राथमिकता नदिने र खिर बनाएर कुललाइ चढाउने देवाश्री गोत्रीय भाटबन्धुहरु कुलायन मन्दिर निर्माणमा लागिपरेका हुन् ।

करिब दुई महिना भित्रमा कुलायन मन्दिर निर्माण सम्पन्न गर्नको लागी ठेक्का दिएको समितिका सल्लाहकार समाजसेवी सु. बोधराज रानाभाटले बताए ।कुलायन मन्दिर निर्माणको लागि स्थानीय खेमकुमारी रानाभाट र बलबहादुर रानाभाटले भाटखोला वडा न ३ सिम्लेटारीको आफ्नो हकभोगको जग्गा दान दिएका थिए ।

भाटखोला गाविस ३ का मीनबहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय देबाश्री गोत्रीय भाटबन्धु कुलायन मन्दिर ब्यवस्थापन तदर्थ समिति गठन गरिएको छ भने सोही वडा निवासी रुद्रबहादुर रानाभाटको संयोजकत्वमा ५ सदस्यीय मन्दिर निर्माण उपसमिति पनि गठन गरेको छ ।

त्यसैगरी रेशमलाल रानाभाट, वलबहादुर रानाभाट, सु. वोधराज रानाभाट, कमला रानाभाट र कृष्ण रानाभाट रहेकोे पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेका छन् ।एउटै कुलायन मन्दिरमा कसैले बलि चढाउने र कसैले खिर चढाउने गर्दा स्वभाविक नभएकोले छुट्टै मन्दिर बनाउनु राम्रो भएको स्थानीय भाटबन्धुले बताए ।

कुल देबतालाइ बलि दिनु ब्यबहारिक नभएकोले सबैले एक दिन खिरले पुजा गर्ने बिश्वास रहेको देवाश्री गोत्रीय (खिर चढाउने) भाटबन्धु कुलायन मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर रानाभाटले बताए ।