– सावित्री गौतम
गत २६ जनवरीका दिन भारतले आफ्नो ६६औं गणतन्त्र दिवस मनाउँदा प्रमुख अतिथिका रूपमा आएका अमेरिकी राष्ट्रपति बाराक ओबामाको सुरक्षालाई ध्यानमा राख्दै दिल्लीमा मात्रै १५,००० वटा सीसीटीभी क्यामेरा जडान गरिएका थिए । दिनहुँ महिलाका लागि असुरक्षित बन्दै गएको भनिने दिल्लीमा पटकपटकको मागका बाबजुद नराखिएका सीसीटीभी क्यामरा ओबामा एक जनाका लागि मात्रै १५,००० वटा राखिएको भन्दै मोदी सरकारको आलोचना पनि भयो । तर गणतन्त्र दिवसको विशेष परेडलाई नै नारी शक्ति ‘थिम’मा प्रदर्शन गरिएपछि विश्वभरि त्यसको चर्चासँगै भारतको व्यापक प्रशंसा पनि भयो ।
गणतन्त्र दिवस विशेष परेडको अगुवाइ क्रमशः भारतीय स्थलसेनाकी दिव्या अजीत कुमारले १४८ जनाको टुकडीको नेतृत्व गर्दै र जलसेनाकी सन्ध्या चौहानले १४४ जनाको समूहको साथमा गरिन् । त्यस्तै ओबामालाई दिइएको ‘गार्ड अफ अनर’को नेतृत्व गर्ने अर्की सैन्य अधिकृत थिइन् भारतीय वायुसेनाकी पूजा ठाकुर । हरेक वर्ष निकै महत्त्व र धुमधामसाथ मनाइने यो दिवसमा प्रदर्शन गरिने प्रत्येक झाँकी वा परेडका लागि छानिन पाउनु सम्बन्धित व्यक्तिविशेषका लागि नै गर्वको विषय हुने गर्छ । हालै ‘बेटी बचाओ बेटी पढाओ’ अभियान सुरु भएको भारतमा गणतन्त्र दिवसमा परेड खेल्ने साहसिक सुन्दरीहरूले यो अभियानलाई अझै बढी प्रेरणा दिएको पनि मानिएको छ ।
संयोगले भारतमा गणतन्त्र दिवसको भव्य ‘सेलिब्रेसन’ र नेपालमा संविधान बन्न नसकेको निरासा पोख्ने समयको सेरोफेरो नजिकै पर्न गयो । आठ वर्ष बितिसक्दा पनि नयाँ संविधान पाउन नसकेको निराशा र झोक पोख्ने विभिन्न तरिका नेपालीहरूले अपनाइरहेका छन् । अघिल्लो संविधानसभाकै असफलतापछि ‘यिनीहरूलाई लखेट्नुपर्छ यस्तो भेषमा’ भन्ने क्याप्सन भएका कतै राउटेको भेषमा त कतै पञ्चेबाजा हातमा लिएर भाग्दै गरेका शीर्ष नेताहरूका तस्बिरहरू सामाजिक सञ्जालहरूमा छ्यास्छ्यास्ती देखिँदै आएको छ । तस्बिर हाल्नेहरूले भन्न खोजेका हुन्, ‘संविधान बनाउन नसक्नेहरू नालायक हुन् ।’ अर्थात्, राउटे या पञ्चेबाजा बजाउने दमाइहरू नालायक हुन् । फोटो ‘एडिटिङ’को यति धेरै कला जान्ने ‘एक्सपर्ट’हरूले बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देशको रूपमा चिनिएको आफ्नै देशका नेपाली बन्धुहरूले आफूलाई जातीय आक्षेप लाग्ने गरी ‘एडिट’ गरिएका यस्ता तस्बिर हेर्दा के सोच्लान्, उनीहरूको मनमा कति चोट पर्ला भनेर चाहिं विचार पुर्याएको नदेख्दा उदेक लाग्छ । अझ निकै गण्यमान्य व्यक्तिहरूले समेत यिनै तस्बिरहरूलाई बडो गौरवका साथ ‘हो हो’ भन्दै ‘पोस्ट’ गरेको देख्दा उनीहरूको दरिद्र दिमागमाथि दयाबाहेक केही गर्न सकिँदैन ।
संविधान बन्न नसकेको वा देशको अस्तव्यस्त अवस्थाप्रति रोष प्रकट गर्ने व्यक्तिहरूको सबैभन्दा बढी निसाना बनेका छन् महिलाहरू । अघिल्लो संविधानसभाकै असफलतापछि शीर्षनेताहरूलाई सारी, चोलो र चुरापोते लगाएर घरको पिंढीमा झोक्राइरहेको अवस्थाको तस्बिरमा देख्न पाइन्थ्यो, ‘संविधान बनाउन सकेनौ अब तिमीहरूको यही गति बनाउने हो’ भन्ने क्याप्सनका साथ । यसपालि पनि कतै कुर्ता-सुरुवाल लगाएका केपी ओली रिक्सावाला बनेका सुवास नेम्बाङको रिक्सामा चढेका छन् भने कतै प्रधानमन्त्री सुशील कोइराला सारी-चोलोमा सजिएको देख्न पाइन्छ । कसैकसैले सामाजिक सञ्जालमा लेख्न पनि भ्याएका छन् ‘संविधान दिवस त मनाउन पाइएन, अब फरिया दिवस मनाउन बाँकी छ ।’ यी सबैको एउटै अर्थ हो संविधान बनाउन नसक्नेहरू नालायक हुन् र नालायकहरूलाई चुरापोते वा फरिया लगाइदिनुपर्छ अर्थात सारी-चोलो र चुरा-पोते नालायकहरूका वेशभूषा हुन् ।
आजका मितिसम्म नेपाली समाजमा सबभन्दा मर्यादित, सौम्य र औपचारिक पोसाकका रूपमा लिइँदै आएको पोसाक हो सारी-चोलो । हरेक छोराले पहिलो कमाइबाट आमालाई किनिदिने पहिलो उपहार हो सारी । पुरानो होस् वा नयाँ पुस्ता, सर्वसाधारण मात्रै होइन कर्पोरेट, कूटनीतिज्ञ र मन्त्री भएका महिलाले समेत पारिवारिक जमघट होस् वा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, औपचारिक कार्यक्रमहरूमा गौरवका साथ सारी-चोलोमा आफूलाई प्रतिनिधित्व गराउँछन् । त्यस्तै सांस्कृतिक रूपले हिन्दु नेपाली महिलाका लागि चुरा-पोते अत्यन्त महत्त्वपूर्ण वस्तु हुन् । शताब्दीऔंदेखि सौभाग्यको प्रतीकका रूपमा हिन्दु नेपाली महिलाले चुरापोते लगाउँदै आएका छन् । सौभाग्यका रूपमा नलगाए शृंगारको प्रमुख साधनका रूपमा त प्रत्येकजसो नेपाली महिलाले अत्यधिक प्रयोग गरिएको वस्तु हो चुरा । विश्वास नगर्ने वा मन नपर्नेले नलगाउलान् तर जसले लगाउँछन् उनीहरूको भावनामा यस्ता तस्बिरहरूबाट चोट पुर्याउने काम भएको छ ।
मर्यादा वा सौम्यताभन्दा बढी पोसाक छनोट व्यक्तिविशेषको स्वतन्त्रता पनि हो । म सोच्छु यस्ता तस्बिर प्रकाशित गर्ने वा अभिव्यक्ति दिने व्यक्तिहरूका परिवारमा महिला छन् कि छैनन् ? उनीहरू सारी-चोलो लगाउँछन् वा लगाउँदैनन् ? परिवारका महिला सारी-चोलो र चुरा-पोते लगाएर आउँदा उनीहरूको प्रतिक्रिया के हुन्छ होला ? के उनीहरू भन्दा हुन्, ‘यो नालायकहरूको वेशभूषा नलगाऊ’ भन्ोर ? हैन भने नालायकहरूले लगाउने वेशभूषाको प्रतीकका रूपमा नेताहरूलाई सारी-चोलो र चुरा-पोते लगाएका महिलाको रूपमा देखाउँदै गर्दा उनीहरूको मनमा ‘म आफ्नै आमा, दिदी-बहिनी, श्रीमती मात्रै नभई करोडौं नेपाली महिलाको अपमान गर्दै छु, उनीहरूलाई नालायक नामकरण गर्दै छु’ भन्ने कुरा दिमागमा आउँछ वा आउँदैन ?
कुनै पनि वेशभूषाको लायकी वा नालायकीपनसँग कुन कोणबाट सम्बन्ध रहन्छ ? यो सम्बन्धलाई प्रमाणित गर्नेहरू को हुन् ? महिलाको मर्यादामाथि यतिविधि निर्मम प्रहार गर्ने छुट यिनलाई कहाँबाट प्राप्त भइरहेको छ ? यसअघि पनि कुनै पुरुषलाई नालायक प्रमाणित गर्न सारी-चोलो वा पेटीकोट लगाइदिइएका वा चुरा-पोते र ‘स्यानिटरी प्याड’ उपहारमा पठाइएका सयौं घटना भइसकेका छन् । महिलाका अधिकार रक्षाका नाममा स्थापित सयौं गैरसरकारी संस्थाको यस्ता कुराप्रतिको भूमिका के हो ? महिलाको मर्यादा हननको यो अवस्थालाई सम्बोधन गर्नु महिलाकै नाममा स्थापित सिंगै महिला मन्त्रालयको जिम्मेवारीभित्र पर्छ कि पर्दैन ? सञ्चार क्षेत्रमा विभिन्न आचारसंहिता लागू गर्ने, अभिव्यक्ति स्वतन्त्रताको सीमा निर्धारण गर्ने सञ्चार मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रताको यो नांगो दुरुपयोगमा हस्तक्षेप गर्नुपर्छ कि पर्दैन ? यस्ता तस्बिर र अभिव्यक्तिहरू प्रकाशमा ल्याउने व्यक्तिहरूमाथि मानहानिको मुद्दा चलाइनुपर्ने हो कि हैन ? यसबारेमा स्वयं सारी-चोलो र चुरा-पोते लगाउने महिला सभासदहरूको मौनता त झन् लज्जाजनक छ । जुन समाजमा कसैको नालायकी प्रमाणित गर्न उसलाई महिलाका सामान पहिराइदिने वा उपहारमा दिइने गरिन्छ, त्यही समाजमा हामी महिलाले आफ्नो सम्मानजनक उपस्थितिको कल्पना गर्नु बेकार छ ।
प्रस्तुत लेखलाई ईकान्तिपुरबाट साभार गरिएको हो।