– राज पौडेल
“उठ्नुस त .. चिया पनि सेलाईसकेछ !”
झसंग भएर अचानक बिउँझे | त्यो कालजयी सपनाबाट एकाएक मायाको संसारमा आइपुगेको थिएँ म | अलि ढुक्क भयो, अघि भर्खर देखेको त्यो कालो अनुहार मेरो पछाडी थिएन, म सुरक्षित थिएँ | एउटा गहिरो डरले मेरो मन अनि मष्तिस्कमा धेरै ठुलो असर पारेको थियो, जुन मैले भर्खरै मेरो जीबनमा भोगेर आएको थिएँ | अहिले जिन्दगीलाई पछाडी फर्केर हेर्दा आफैलाई बिश्वास लाग्दैन कि ति सबै मैले भोगेर आएको हु |
कुरो २००८ को सुरुवातको हो, मेरो पहिलोपटकको लगभग ३ बर्षको पहिलो करार अवधि सकाएपछी पाइने दुइ महिनाको लागि छुट्टी सकेर म फेरी मलेसिया फर्केको थिएँ | शाह अलाम राज्यको काम्पुंग जावा भन्ने ठाउँमा हाम्रो कम्पनि थियो | मेटल अनि अलुमिनियम लगायतका सामानमा पाउडर अनि पेन्ट कोटीङ गर्ने काम गर्थ्यो हाम्रो कम्पनीले | हाम्रो कोठा कम्पनीबाट लगभग १० मिनेट जति साइकिल यात्राको दुरीमा पर्थ्यो | २००४ को अगस्ट महिनामा मलेसियन रिंगेट ५०० मा प्रोडक्सन अपरेटर पोस्टमा म त्यो कम्पनिमा गएको थिएँ, जसबाट मासिक १०० सरकारी लेबी काटिन्थ्यो भने खाना पनि त्यहि पैसाबाट खानु पर्थ्यो | तर २००४ देखि २००७ सम्मको समय अवधिमा कम्पनीको आवस्यकता अनि मेरो योग्यताले पनि होला, मैले राम्रै प्रगति गरेको थिएँ | प्रोडक्सन अपरेटर बाट क्यु सी, अनि क्यु ए हुदै म प्रोडक्सन कोअर्डिनेटर को पदसम्म पुगिसकेको थिएँ, जुन एउटा म जस्तो नेपालीको लागि एउटा निकै ठुलो उपलब्धि थियो | कस्टोमरसंग डेलिभरीको बारेमा कोअर्डिनेसन, कच्चा पदार्थको आपूर्ति, अर्जेन्सीको आधारमा प्रोडक्सन सेड्युल दिनु, सामानको आयात निर्यातको हिसाबकिताब राख्नु जस्ता मेरा कामहरु थिए |
म छुट्टीमा आएको बेलामा कम्पनीले दुइजना नयाँ स्थानीय तामिल कामदारहरु लिएको रहेछ, एउटा स्टोरकिपर अनि अर्को चाहिं लोरी ड्राइभर | उनिहरुसंग पनि परिचय भयो, सबै ठिकै चलिरहेको थियो | महिनाको अन्तिममा हरेक सरसामानको फिजिकल स्टक चेक गर्नु पर्ने हुन्थ्यो, जुन काम म छुट्टि जानु भन्दा अगाडी मेरो नेतृत्वमा हरेक महिना हुने गरेको थियो | म गएपछिको महिनाको अखिरमा पनि गर्नु पर्ने भयो अनि स्टक चेक पनि भयो, तर अचम्मको कुरा , मेरो खातापाताको संख्या र स्टोरमा भएको सामानको संख्यामा एकदमै ठुलो अन्तर देखियो | मैले त जसरि पनि त्यो समान खोज्नु पर्ने थियो, त्यसकारण कस्टमरलाइ डेलिभरी भएका रेकर्ड देखि सम्पूर्ण कागजपत्रहरु, उनीहरुलाई फिर्ता पठाईएका सामानहरु सबै खोजें , सबैतिर चेक गरें तर सामान भेटिएन | सामान फिजिकल रुममा हराएको कुरा लगभग मलाई चाहिं पक्का भैसकेको थियो तर , प्रोडक्सन कन्ट्रोल अफिसमा पनि तामिल कर्मचारीहरु नै भएको हुनाले सिधै सामान हराएको हो भनेर भन्न सक्ने स्थिति थिएन | कम्पनीको चाइनिज बोस मलाइ बारम्बार मिटिंगमा बोलाइरहन्थ्यो अनि प्रोग्रेस को बारेमा सोध्थ्यो |
त्यस्तैमा एकदिन साँझपख म आफ्नै कोठाको बाहिर पट्टि बसिरहेको थिएँ, झमझम पानि परिरहेको थियो | एउटा बंगाली कामदार छेउमा आएर बस्यो , जो त्यहि बिल्डिंगको अर्को अपार्टमेन्टमा बस्थ्यो अनि हाम्रै कम्पनिमा ‘नाइट वाचम्यान’ को रुपमा काम गर्थ्यो | उसले दुइवटा बियर लिएर आएको रहेछ, एउटा मलाई दिदै खान आग्रह गर्यो, मैले ‘म खान्नँ, धन्यबाद’ भनें | त्यसपछि त त्यो बंगाली केटो आँखाबाट बर्बर आँसु झार्दै रुन पो थाल्यो ! म त छक्क परें, “के भयो ?” भनेर सोधें | बंगाली केटो रुदै भन्यो. ” बन्धु भाइ, मलाई एकदम डर लागिरहेछ, कसैलाई भन्न पनि सक्दिन, छोडेर जान पनि सक्दिन, त्यत्रो पैसा लगानी गरेर आएको छु, बाबुआमा बुढा छन्, घरमा अरु कमाउने कोहि छैन, मेरो ज्यान एकदम खतरामा छ बन्धु भाइ, मलाइ लाग्छ, तँ मात्रै एउटा मान्छे होस्, जसलाई म बिश्वास गर्न सक्छु अनि यो पिडा शेयर गर्न सक्छु |” मैले उसलाई आस्वस्त बनाउदै भनें, ” के डर हो मलाई भन, मलाई बिश्वास गर्न सक्छस | म तलाई सकेसम्म सहयोग गर्न कोशिस गर्ने छु ” त्यसपछि उसले मलाइ भन्यो ” बन्धु भाइ, कुमार र अर्को ड्राइभर मिलेर कम्पनीको सामान बेच्छन, उनीहरुले मलाइ धम्कि दिएका छन्, यदि यो कुरा मैले कसैलाई भनें भने उनीहरुले मेरो गला काट्नेछन् , कसैलाई भनु भने मेरो ज्यान पनि जान सक्छ, नभनु भने भोलि बोसले मलाई नै शंका गर्न सक्छ | म दिनभरी सुत्न सक्दिन बन्धु भाइ, मलाई बचाउ एकोहोरो रोइरह्यो, मेरो पनि आँखाभरी आँसु भयो | उसले मलाइ अलिकति बलियो देख्यो होला, यिनीहरु संग लड्न सक्छु, बोस संग कुरा राख्न सक्छु, उसको हवाला नदिईकन सबै कुरा सल्टाउन सक्छु भन्ने लाग्यो होला | त्यो निरिह प्राणीलाई मैले सम्झाएँ, उसलाई केहि हुदैन भनेर आस्वस्त गराएँ |
मैले हाम्रो खातापातामा गडबड नभएको सामान साच्चिकै हराएको भनेपछि बोसले आफ्नै हिसाबले सामानको खोजि गरिरहेको थियो | एकदिन उसले कवाडी पसलमा आफ्नो सामान भेटेछ जुन तिनै दुइजना नयाँ स्टोरकिपर अनि ड्राइभरले गरेको लगभग पक्का भयो | दुइचार दिन पछी बोसले ति दुवै जनालाई कम्पनिबाट निकालिदियो र अरु के कस्तो एक्सन लियो भन्ने पुरै खुल्न आएन । उनीहरुले त्यो एरियाका पेसेवर ग्यांगेस्टर थिए, सायद त्यहि डरले गर्दा बोसले पनि बर्खास्त भन्दा अरु केहि कारवाही गर्ने हिम्मत गर्न सकेन जस्तो लागेको थियो हामीलाई। त्यसको हप्ता दिन भित्रै हाम्रो बोसको अर्को कम्पनि जसमा मोटरसाइकलको प्लास्टिकको कभरहरु पेंटिंग अनि पोलिशिंग हुन्थ्यो, त्यहाँ आगो लाग्यो | हामी दौडदै त्यहाँ पुग्यौं जुन हाम्रो कम्पनीबाट लगभग ८ – १० मिनेट को दुरीमा पर्थ्यो। हामी पुग्दा दमकल, प्रहरी सबै आइसकेका थिए र आगो निकै ठुलो भैसकेको थियो | सुजुकी, यामाहा का धेरै सामान जलेर नस्ट भैसकेका थिए | केहि बेरपछि तिनै दुइजना तामिल त्यहाँ देखा परे जसलाई कम्पनीले बर्खास्त गरेको थियो | उनीहरु मेरो छेउमा आए अनि मलाई भने,” यो त सुरुवात हो, हेर्दै जा अरु के के हुन्छ ” मलाई एकदमै डर लाग्यो, तर कसैलाई भन्न सकिन। मलाई थाहा छैन त्यो आगो तिनीहरुले नै लगाएका हुन या हैनन् तर आगो बाहिरबाट लागेको थियो र कसरि लाग्यो भन्नेमा कसैलाई केहि शंका थिएन | विपत्तिको बेला मान्छेले शत्रुलाई पनि बल्ल खाइस भन्न सक्दैन तर त्यो कन्डिसनमा उनीहरुले बोलेको कुरा सुन्दा लाग्थ्यो, यिनीहरु जे पनि गर्न सक्छन |
त्यसको ३ – ४ दिनपछि मलाई नयाँ नम्बरबाट कल आयो, कुमार भन्ने स्टोरकिपरको कल थियो | त्यो सामान हराएको कुरा बोसले म मार्फत थाहा पाएको र उनीहरुको बर्खास्तको मुख्य कारण म भएको अनि मेरो ज्यानलाई खतरा रहेको जस्ता धम्कीपूर्ण कुरा गर्यो | मैले आफुले कसैलाई दोष नलगाएको, स्टक चेक गर्दा सामान कम देखिएको रिपोर्ट मात्रै बोसलाई बुझाएको बताएँ | उसले भोलिपल्ट उसलाई भेटेर कुरा गर्न भन्यो, मैले हुन्छ भनें अनि भोलिपल्ट कोठाभन्दा केहि पर उसकै कारमा लिएर गयो | मलाइ एकदम डर लागिरहेको थियो तर मैले गर्न सक्ने पनि केहि थिएन | अनि उसले अनेक आरोप लगाउन थाल्यो, सम्पूर्ण समस्या मैले गर्दा आएको, म छुट्टीबाट आउनु अघि कसैलाई वास्ता नभएको जस्ता कुरा हरु गर्यो | म पनि उसलाई कन्भिन्स गर्न कोसिस गर्दै थिएँ, आफुले गर्नु पर्ने काम मात्रै गरेको, कसैलाई दोष नदिएको, आफु यहाँ नभएको बेलाको कुरा आफुलाई केहि थाहा नभएको भनेर सम्झाउदै थिएँ | अनि अन्त्यमा उसले म संग पैसा माग्न थाल्यो | लोरी ड्राइभरले तेरो पछाडी मान्छे लगाएको छ, तलाई बचाउन तिनीहरुलाई खुवाउनु पर्छ, पैसा ले ….. भन्न थाल्यो | मेरो खल्तीमा २०० रिंगेट थियो, त्यहि निकालेर दिएँ | भोलिपल्ट देखि पनि उसले मलाइ कल गर्न छोडेन, मलाइ एकदम मानसिक तनाव हुन् थाल्यो , म यो कुराको बारेमा बोसलाई भन्न सक्थें, बोसले सायद उसको बारेमा पुलिसमा रिपोर्ट गर्थ्योहोला तर मेरो सुरक्षा ? बारम्बार फोन गरेर पैसा मागीरहन्थ्यो, मलाई अत्यधिक तनाव भएको थियो |
मलाई अब मेरो जीबन खतराको घेरामा भएको महसूस भैसकेको थियो | त्यसैबीचमा आइतबारको डियुटी थियो, अफिसमा काम गर्ने म एकजना मात्रैको डियुटी थियो | बोस अनि एडमिन म्यानेजर म्याडमका परिवार संगै भएका हुनाले छुट्टीको दिनमा अक्सर अफिस आउदैनथे | मेरो मनमा कताकता त्यो खतरा अनि तनावबाट कसरी निस्कन सकिन्छ भन्ने खालको सोचहरु आउन थाल्यो | म संग अफिसको चाबी त थियो तर पासपोर्ट राख्ने दराजको चाबीको बारेमा केहि थाहा थिएन | म आफुसंग भएको सम्पूर्ण शक्ति बटुलेर चाबी खोज्ने शाहस जुटाएँ | सायद मेरो भाग्य नै भन्नु पर्छ, भर्खर कम्पनीमा पर्सनल डिपार्टमेन्ट सम्हाल्न आइपुगेकी एउटी मलायु म्याडमको माथिल्लो घर्रामा त्यो दराजको चाबी रहेछ | मैले बिस्तारै चाबी खोलें, आफ्नो पासपोर्ट खोजें अनि खल्तीमा हालें | पासपोर्ट खल्तीमा पर्दैमा मेरो सम्पूर्ण समस्याको समाधान भैसकेको थिएन , अब त्यो भन्दा अगाडी अरु धेरै चुनौती थिए | एअरलाइन्सको टिकट काट्नु थियो, खल्तीमा पैसा थिएन, एअरपोर्टको इमिग्रेसनमा छिर्न लाइ अरु केहि गर्नु पर्ने थियो कि थिएन त्यसको बारेमा केहि थाहा थिएन | त्यहि दिन संगै काम गर्ने जुद्द भन्ने सथिसंग बेलुका कलांग जाने भए, उसको पनि केहि काम थियो | तर मैले मेरो बारेमा केहि भनेको थिइन्, ठिक त्यसैबेला त्यहि कुमारको फेरी फोन आयो, कहाँ छस भनेर सोध्यो | मैले कलांगमा छु, किन ? भनेपछि ‘ म पनि कलांग आउदैछु , एकछिन त्यहीं प्रतिक्षा गर’ भन्यो | त्यहि बिचमा मैले सम्पूर्ण कुरा मेरो साथीलाई बताएँ | म संग पैसा थिएन , र उसले पैसा माग्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै सबै पैसा संगै नराख्न भनें | जुद्द संग पैसा थियो, उसले २०० रिंगेट छुट्याएर राख्यो | एकछिन पछी कुमार आयो अनि म संग कुरा गर्नु छ एकछिन भनेर जुद्दसंग छुटाएर अलि पर लिएर गयो | उसले फेरी नानाथरी कुरा गरेर पैसा माग्न थाल्यो | मैले ‘म संग पैसा छैन’ भनेर पर्स खोलेर देखाएँ | मेरो आँखाबाट आँसु तप्क्यो तर उसको मनमा करुणा पलाएन, पैसा दिने भए दे .. नत्र मलाई केहि थाहा छैन, तलाई तिनीहरुले जे पनि गर्न सक्छन भनेर तर्साउन थाल्यो | मैले जुद्द संग भए माग्छु भनेर गएँ अनि फेरी त्यहि २०० रिंगेट मागेर, उ संग पनि यति नै रहेछ भनेर दिएँ | त्यसपछि त्यो त्यहाबाट गयो, अनि मैले जुद्दलाइ मलाई सहयोग गर्न अनुरोध गरें | त्यहि बिचमा मैले मेरो साथी सुबासलाइ फोन गरेर सम्पूर्ण कुराहरुको जानकारी गराएँ |
मैले अहिले जुद्द संग पैसा लिएर एअर टिकेट लिने अनि सुबासको तलब आएपछि उसले जुद्द्लाई तिरिदिने कुरामा जुद्द सहमत भयो यद्दपी उसले सुबासलाइ चिनेको थिएन | म अहिले पनि सम्झन चाहन्छु, गुल्मीका साथी जुद्द बहादुर बिस्वकर्मा जसले मलाइ आँखा चिम्लेर बिश्वास गरेर मेरो कठिन स्थितिमा सहयोग गरे, भगवानले उनलाई सदैब सहयोग गरिरहुन, म कामना गर्दछु | त्यतिखेर नेपाल जानको लागि बजेट एअरलाइन्स ‘फ्लाईयति’ भन्ने भर्खर सुरु भएको थियो, जसले जम्मा ५५० रिंगेटमा काठमाडौँ लाने गर्थ्यो , त्यसको टिकेट आइ एम ई को अफिसमा पाइन्थ्यो | जुद्दले सहयोग गर्ने भैसकेपछि हामी आइ एम इ को अफिसमा गएर टिकेट काट्यौ | फ्लाइट डेट १४ तारिखको थियो, र त्यो दिन बल्ल ११ तारिक थियो | मेरो लागि त्यो बिचको पल एकदमै गार्हो पल थियो, एक त पासपोर्ट चोरेर लिएको थिएँ आफुसंग , दोश्रो कुरा त्यो तामिलले फेरी पनि सताइरहने पक्का थियो | त्यसपछि मैले अर्को एउटा बहाना सोचें, त्यहि साँझ मेरो एडमिन म्यानेजर म्याडमलाई फोन गरेर मलाकामा भएको साथी बिमार भएको र म भोलिपल्ट उसलाई भेट्न जानु पर्ने भएकोले २ दिन डिउटी आउन नसक्ने कुरा जानकारी गराएँ र त्यहि साँझ सुबासलाइ फोन गरेर आफु भोलि बिहान उनिहरुकोमा आउने कुरा जनाएँ | भोलिपल्ट बिहान सबै साथीहरु डिउटी हिडिसकेपछी झोलामा राख्न पर्ने र मिल्ने जति आफ्ना सामान कोचें अनि निस्कने तैयारी गरें | ठिक त्यतिबेलै वालिंगको अग्नि भन्ने साथी डिउटीबाट कोठामा आयो, जो नाइटमा काम गर्थ्यो | बेला बखत रक्सि खाएर लाजैमर्दो गरेपनि मान्छे खास्साको थियो | उसलाई संक्षेपमा सबै कुरा भने, उसले पनि ठिक गर्नुभयो, राम्रो संग जानु भनेर मेरो झोला बोकेर रोड सम्म ल्याएर मलाइ बिदाइ गर्यो | छुट्ने बेला अँगालो हालें, आँखा रसायो उ पनि फरक्क फर्केर हेर्दै नहेरी गयो | बाटोमा जादा जादै सुबासको मा नपुग्दै कुमारको फेरी फोन आयो, मैले उठाइन | बारम्बार फोन आइरह्यो मैले उठाउदै उठाइन |त्यसपछि त्यो तामिल मेरो कोठामा आएछ्, पुरै बिल्डिंग खोजेछ, साथीहरु मार्फत पछी थाहा भयो |
अनि अलि बेरपछि एउटा मेसेज आयो, ‘ कहाँ छस ? मेरो फोन उठा … !’ मैले त्यसको पनि केहि प्रतिक्रिया जनाइन | सुबासको कोठामा पुगेपछि सास दबाएर बसें, किनकि त्यो कम्पनीको क्याम्प थियो, अरु मान्छेलाई आएर त्यसरी बस्न अनुमति थिएन, त्यहीमाथि मलाई त २ रात ३ दिन त्यहीं गुजार्नु थियो | मेरो मनमा डरको मात्र यति धेरै बढेको थियो कि, बिहान बेलुका सुबासहरु पसल जादा पनि म बाहिर निस्कन सक्दैनथें | १२ तारिख ३ – ४ घन्टासम्म उसको फोन आइरह्यो, मैले फोन साइलेन्टमा राखें तर रिसिभ गरिन |अनि ३ – ४ बजे तिर बन्द गरिदिएँ | बेला बेलामा फोन खोलेर हेर्थें मिसकलको नोटिफिकेसन आउथ्यो, सबै भन्दा बढी त्यहि तमिलको मेसेज थियो , घरबाट पनि फोन गरेका रहेछन, म्याडमले अफिसबाट फोन गरेकी रैछे | घरको फोनको मेसेजले रुन मन लाग्यो, दिनभरी कोठामा एक्लै थिएँ, धेरै बेरसम्म रोएँ।
मेरो अन्तर्मनको एउटा मात्रै प्रार्थना भनेको मलेसियाको इमिग्रेसन काटेर नेपाल फर्किन पाउ भन्ने मात्रै थियो | न खान मन लाग्थ्यो न निद्रा लाग्थ्यो , सुबासहरु दिनभरी डिउटी जानु पर्थ्यो | १३ तारिख फोन खोलेर हेर्दा त्यहि तामिलको म्यासेज थियो जसमा लेखिएको थियो,’ तँ भागेर कहाँ जान्छस मेरो साथी, जहाँ भएपनि मलेसियामै त होलास नि, भेट त पक्कै हुन्छ अनि हेरुला तलाई कसले बचाउदो रहेछ’ मुटु हल्लिरहन्थ्यो, डर अनि सन्तापले भित्रभित्रै जलेर आउंथ्यो | त्यहि बिचमा फेरी एकपटक एडमिन म्यानेजर म्याडमलाई फोन गरें अनि साथीको स्थिति अलि सुध्रेकोले भोलि १४ तारिख बेलुका सम्म आइपुग्छु भनेर भनें | मेरो भाग्य भन्नु पर्छ, त्यो मलायु मेडमलाइ उसको दराजबाट पासपोर्ट हराएको कुराको शंका सम्म थिएन अनि त्यो तिन दिन सम्म पासपोर्ट नचाहिनु पनि कता कता भगवानले मलाइ सहायता गरेका रैछन कि जस्तो लाग्छ अहिले। १४ तारिक सुवासले उसको कम्पनीमा काम गर्ने स्टाफसंग सल्लाह मिलाएर उसको साथीले हामीलाइ एअरपोर्ट छोडिदिने भयो | उसले मलाई यताउता साथी सबैसंगबाट सापटी लिएर घर पुग्ने पैसा जुटाईदियो | मेरो मन अझै पनि ढुक्क थिएन, दुइ महिना अघिमात्रै छुट्टी काटेर आएको मान्छे म, इमिग्रेसनमा कहिँ शंका भएर रोकिदिने हो कि, कम्पनीमा सोधपुछ पो गर्ने हो कि भन्ने डरले मेरो सास घाटीमा अड्किएको थियो | सुवाशहरु मलाइ भित्र पठाएर फर्के, सामान चेक इन हुने ठाउँमा एकजना नेपाली दिदि धेरै सामान भएर अड्किनु भएको रहेछ, मेरो सामान नदेखेर सहयोग गर्न आग्रह गर्नु भयो, मैले उहाको एउटा लगेज लिदिने भए | त्यो दिदीले पर्सबाट ५० रिंगेट निकालेर दिनु भयो तर मैले लिईन |
त्यतिखेर फेरी एकपटक मेरो आँखा भरियो, सायद बिबसतामा चेपिएर मेरो मन सानो भएको थियो अनि म आफुलाई पिडित महसूस गर्थें | अब मेरो अन्तिम परीक्षा थियो पास हुनको लागि, इमिग्रेसनको एउटा टेबलमा मलायु महिला अफिसर देखें , म सरासर त्यहि लाइनमा गएर उभिएँ | बिस्तारै बिस्तारै मेरो पालो आयो, डरको कारणले होला मेरो दिल दिमाग ठाउँमा थिएन | महिला अफिसरले मेरो पासपोर्ट समाती , एकछिन पछी सोधी, ‘२ महिना अगाडी मात्रै आएको रहेछ, किन फर्किन लागेको ?’ मैले भनें ‘ घरमा समस्या भएर ‘ फेरी सोधी ‘ कम्पनीलाई थाहा छ ‘ मैले भनें ‘ कम्पनीले पठाएर त आएको ‘ त्यसपछि ड्याम्म एक्जीट को सिल लगाईदिई | मैले मनमनै मेरो भगवान सम्झें, मेरो परिवार सम्झें, मेरा इस्टमित्र सम्झें, मलाई सहयोग गर्ने साथी सम्झें | मैले अब त्यो कालो राक्षसको पन्जाबाट मुक्ति पाएको थिएँ, मैले मेरो जीबन पाएको थिएँ | भित्र प्रतीक्षा गर्ने कोठामा गएर सबै भन्दा पहिला बोसलाइ फोन गरेर आफुले कम्पनीबाट पासपोर्ट निकालेको अनि नेपाल जान लागेको कुरा बताएँ | बोसले विश्वास गर्ने सकेन, तैले कसरि त्यस्तो गर्न सक्छस राज ? तँ फर्केर आइज, तेरो समस्या म समाधान गर्छु , तँ डराउनु पर्दैन .. आदि आदि भन्यो | मैले एकोहोरो रोइरहें, उसले मप्रति गरेको विश्वासमा मैले गरेको धोका प्रति माफी मागीरहें, एकछिन पछि बोसले फोन राख्यो अनि फेरी एडमिन म्यानेजर म्याडमलाई फोन गरें, सबै कुरा बताएँ, बेस्सरी रोएँ, म्याडम पनि रोइ | उसले भनि, ‘ राज तैले लगभग चार बर्षसम्म यति इमान्दारी संग काम गरिस, अनि अहिले यसरि गइस ? आजसम्म हांसीरहिस , हसाइरहिस अनि अहिले रुवाएर गइस ??? अब म के भन्नु राज .. हाँसीखुसि रहनु | मेरो आँसु निरन्तर बगिरह्यो बगिरह्यो ….. !
अहिले पनि त्यो बोस मेरो सम्पर्कमा छ, त्यो म्याडम पनि सम्पर्कमा छे |तर पनि जिबनमा एउटा खेद छ, त्यहि बेइमानीको … जुन लाचार भएर गर्नु परेको थियो |