– प्रकाश तिवारी
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को युरोप महादेशस्तरीय कार्यक्रम यसपटक जर्मनीमा हुने भएको छ।
इनासको युरोप महादेशस्तरीय तेश्रो क्षेत्रीय बैठक, युरोपस्तरीय नेपाली नृत्य प्रतियोगिता, साहित्य वाचन, तेश्रो इनास फिल्म अवार्डको लागि छानिएका उत्कृष्ट दश नेपाली चलचित्रहरुको नामावली सार्वजनिक र कलाकार एवं साहित्यकारहरुको सम्मान को साथमा युरोपका कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति सहित यहि आउदो अप्रिल ३ र ४ तारिकको दिन जर्मनीमा हुने युरोप महादेश स्तरिय कार्यक्रममा डेनमार्क, ईटाली, नेदरल्याण्ड, जर्मनी, स्विजरल्याण्ड, फ्रान्स, बेल्जियम, लक्जम्बर्ग, फिनल्याण्ड, स्पेन, पोल्याण्ड, युके, नर्वे, स्वीडेन, पोर्तुगल लगायतका युरोपका देशहरुका साथै एसिया, अमेरिका, क्यानाडा लगायतका अन्य देशहरुबाट कलाकारहरु, साहित्यकारहरु, नेपाली र विदेशी चलचित्रकर्मीहरु लगायतका कलाकारहरुको धेरै ठूलो संख्यामा सहभागिता रहने जानकारी आयोजक संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनीका अध्यक्ष सन्तोषराज गुरुङले गराउनुभएको छ।
इनास ग्लोबल कमिटीले यसपटक कार्यक्रमको पूर्ण जिम्मेवारी आयोजक राष्ट्र जर्मनी र अन्तराष्ट्रिय नेपाली कलाकार समाज युरोप कन्टिनेन्टल कमिटिलाई संयुक्त रुपमा सुम्पिएकाले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन यी दुवै निकायहरु उत्तिकै सशक्तरुपमा जुटिसकेको इनास युरोपका संयोजक अर्जुन काफ्ले र सह-संयोजक गुणराज शर्माले जानकारी गराउनुभएको छ।
नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन, चलचित्रको प्रवर्द्धन र अन्तराष्ट्रिय बजार बिस्तार, कलाकार तथा साहित्यकारहरुको सम्मान एवं वृहत हितको सम्बन्धमा यसपटक पनि उपस्थित देशहरु र सम्बन्धित निकायहरु बीच छलफल तथा अन्तरकृया हुने र एउटा ठोस निष्कर्ष निकाली आउदो अक्टोबरमा काठ्माण्डौमा आयोजना हुने ग्लोबल कन्फ्रेन्सका बेला प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी इनास युरोपले गराएको छ।
आयोजक राष्ट्र इनास जर्मनीका सबै पदाधिकारीहरु तथा जर्मनीमा नै बसोबास गर्ने इनास ग्लोबल कमिटीका वरिष्ठ सल्लाहकार पुष्प थापा, सल्लाहाकार शिखर खड्का, शुसिल खड्का, वरिष्ठ उपाध्यक्ष कमला दाहाल तथा अन्य राष्ट्रमा रहेका इनासका सबै पदाधिकारीहरु उत्तिकै उत्साहका साथ सक्रिय भएर जुटेको उनीहरुको भनाई रहेको छ। साथै उनीहरुले युरोपस्थित नेपाली कुटनैतिक नियोगहरु, युरोपमा रहेका इनासका सबै शाखा-प्रशाखाहरु, गैर-आवासीय नेपाली संघ युरोप र अन्तर्गतका एनआरएनहरु, गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद- संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदल, नेपाल साँस्कृतिक गृह फ्रान्स, नेपाल जर्मन मैत्री संघ तथा युरोप र अन्य महादेशमा रहेका नेपाली तथा विदेशी संघ संस्था र विभिन्न मिडियाहरुसंग सहकार्य गर्दै जर्मनीको बोखुममा आयोजना हुन लागेको यस विशाल कार्यक्रममा उपस्थितिको लागि सबैलाई हार्दिक अनुरोध समेत गरेका छन्
हरेक वर्ष महादेशस्तरीय क्षेत्रीय कार्यक्रमहरुको साथमा नृत्य प्रतियोगिता र इनास फिल्म अवार्ड गर्दै आएको अन्तराष्ट्रिय नेपाली कलाकार समाजले यसपटक हुने युरोप महादेश स्तरीय कार्यक्रममा फिल्म अवार्डको लागि उत्कृष्ट दशमा छानिएका नेपाली चलचित्रहरुको नामावली सार्वजनिक गर्ने र चलचित्र अवार्ड कार्यक्रम भने २०१५ को अक्टोबर महिनामा नेपालमा हुने विश्व सम्मेलनका बेला घोषणा गर्ने यस अघिनै निर्णय गरिसकेको छ ।