काठमाडौं / एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफूहरु अब जनताका वीचमा जाने भन्दै बहुमतले पेले नर्फकने बताएका छन् ।सत्तारुढ कांग्रेस र एमालेले परिर्वतनकारी शक्तिहरुलाई संविधानसभामा बहस गर्ने ठाउँ समेत नदिएकाले सडकमा जान लागेको उनले बताए ।
पार्टी केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘हामी अब जनताको वीचमा हिँड्यौं । जनतालाई साँचो कुरा बताएर मात्र फर्कन्छौं ।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षण, समावेशी लोकतन्त्रका लागि संघर्ष गरेका शक्तिलाई पाखा लगाई संविधान बनाउन खोजेर कांग्रेस र एमालेले मुलुकलाई मुठभेडमा धकेलेको उनको आरोप थियो ।
उपलब्धीहरु रक्षाका लागि जनतामा जानुको विकल्प रहेको भन्दै प्रचण्डले भने-‘जसको बिहे, उसलाई नल्या’ भनेको जस्तो लाजमर्दो के हुन्छ ?’ कांग्रेस र एमालेले बहुमतले पेले शान्तिपूर्ण आन्दोलनको अधिकतम सीमासम्म जाने प्रचण्डले बताए । उनले भने-०६२/६३ को आन्दोलनमा के भएको थियो, त्यो तपाईहरुलाई थाहा नै छ । हामी शान्तिपूर्ण संघर्षको सीमासम्म जान्छौं । तर, युद्धमा जाने भनेको होइन ।’
त्यो सीमा संविधानसभा छाड्ने भन्ने हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने-‘बहुमतको बलमा अघि बढे नफर्कने स्थिति बन्न सक्छ ।’
– onlinekhabar