स्पेनमा लडाकु विमान दुर्घटना, १० को मृत्यु


म्याड्रिड/

सोमबार अपराह्नमा स्पेनको हवाई शिविरमा ग्रिकको एफ१६ विमान उडान भर्ने क्रममा भएको दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अरु २१ जना घाइते भएका छन् ।

सो विमान नेटो सैनिकको रहेको बताइएको छ । नेटोको तालिम अभ्यासमा संलग्न सो लडाकू विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

यस दुर्घटनामा परी सैनिक सेवामा संलग्न दुई ग्रिक चालक र आठ फ्रान्सेली नागरिकको मृत्यु भएको स्पेनका प्रधानमन्त्री मारिआनो राजोएले सोमबार साँझ पुष्टि गर्नु भएको छ ।
त्यसैगरी सो दुर्घटनामा परी १० फ्रासेली र ११ इटालियन नागरिक पनि घाइते भएको जनाइएको छ ।

स्पेनको मध्य प्रान्त आल्बाकेटेको लोस ल्लानोसमा अवस्थित नेटोको हवाई शिविरमा स्थानीय समयाअनुसार १५ः १८ बजे सो दुर्घटना भएको जनाइएको छ ।

नेटोका महासचिब जनरल जेन्स स्टोल्टेनबेर्गले यस दुर्घटनाबाट आफु अत्यन्त दुखित भएको एक विज्ञप्तिमार्फत बताउनु भएको छ । यस दुःखद घटनाबाट नेटो परिवार नै प्रभावित भएको पनि उहाँले सो विज्ञप्तिमा उल्लेख गर्नुभएको बताइएको छ ।

रासस/ सिन्ह्वा