लन्डन /गैरआवासीय नेपाली संघ (एनआरएन) यूके महेन्द्र कंडेल समुहले आफ्ना सदस्यको विवरण तथा उम्मेदवारी शुल्क बुझाएको छ । गत बर्ष सेप्टेम्बर २९ तारिख लण्डनमा भएको सहमति बमोजिम सो विवरण बुझाउन गैरआवासीय नेपाली सँघ अन्तराष्ट्रिय समन्वयन परिषदले हालै कंडेललाई पत्राचार गरेको थियो ।
कंडेलले विहीवार दिउँसो एनआरएनए आइसीसीका सल्लाहाकार डमर घलेको उपस्थितीमा एनआरएन यूकेका संरक्षक सुर्य गुरुङलाई सदस्यता विवरण र बाँकी रहेको सदस्यता शुल्क बुझाएका हुन् ।
‘सदस्यता फारम निकै ब्यवस्थित रुपमा राखिएको रहेछ एनआरएन आइसीसीको पत्र बमोजिम ३ हजार सदस्यको विवरण मैले बुझिलिए’ संरक्षक गुरुङले बताए । उनले ‘कंडेल समूहले बुझाउन बांकि रहेको उम्मेवारी शुल्क समेत प्राप्त भएको जानकारी’ दिए । सदस्यता तथा उम्मेवारी शुल्क बुझाउन आइसीसी सदस्यहरु थर्क सेन, शुष्मा राई, बिनोद ज्ञवाली, एनआरएन यूकेकी उपाध्यक्ष शान्ति थापा र एनआरएन यूकेका सल्लाहाकार जीव बेलबासे फानवरो पुगेका थिए ।
कंडेलपक्षले आइसीसीको पत्र बमोजिम सदस्यता विवरण र शुल्क बुझिलिएको जानकारी भोलि नै एनआरएन आइसीसीलाई दिने गुरुङले बताए ।
जनवरी १० तारिख सम्पन्न एनआरएन आइसीसीको बैठकले बिषेश साधारणसभा मार्फत एनआरएन यूकेको विवाद टुग्गाउने निर्णय गर्दे कंडेललाई सो पत्र जारी गरेको थियो । कंडेलपक्षलाई दिइएका शर्त पुरा भए पछि बिषेश साधारणसभा बोलाइने अपेक्षा गरिएको छ ।
सो बिषेश साधारणसभाले कंडेललाई बैधानिक रुपमा अध्यक्ष चयन गर्ने , गत नोभेम्बरमा लण्डनमा गरिएका ९ बुद्धे सहमतिलाई अनुमोदन गर्ने बताएको छ । सो बिषेश साधारणसभा पछि लामो समय देखि देखिएको विवाद स्थायी रुपमा समाधान हुने विश्वास गरिएको छ ।
-nepalbritain