पोखरा/
पोखराको पूर्वाधार विकास र यहाँको फोहोर व्यवस्थापनका बारेमा चीनको ग्वान्जाउ नगरबाट आएको टोली र पोखराका व्यवसायी बिच हालै यहाँ छलफल भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भएको कार्यक्रममा ग्वान्जाउबाट त्यहाँका डिपुटी सेक्रेटरी जनरल गु सियाङको नेतृत्वमा पोखरा आएको छ सदस्यीय टोलीले पोखराका व्यवसायीसँग छलफल गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पोखरा पर्यटकीय शहर भए पनि पूर्वाधार विकास लगायत फोहोरमैला व्यवस्थापनका विषयमा नगरले थुप्रै काम गर्न बाँकी नै रहेको कार्यक्रममा बताएका थिए । पोखराको पर्यटकीय विकासमा ग्वान्जाउको अनुभव निकै उपयोगी हुने बताउँदै उनले चिनिया पक्षलाई त्यसबारे बताउन आग्रह गरेका थिए ।
सो अवसरमा बोल्दै सेक्रेटरी जनरल सियाङले भ्रमणको क्रममा आफूहरु पोखराको प्राकृतिक सुन्दरबाट प्रभावित भएको बताउँदै यो उपयत्यकाको भविश्य उज्वल रहेको बताए । मुख्य गरी फोहोर व्यवस्थापनको सन्दर्भलाई नै पोखराले बढी जोड दिएर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव थियो । मुख्य गरी फोहोर संकलन, ढुवानी र त्यसलाई ल्याण्डफिलसाइटमा लगेर डिस्पोज गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी हुने उनले सुझाव दिए । फोहोरबाट विजुली निकाल्न सकिने विषय स्मरण गराउँदै उनले पोखराले त्यतातर्फ समेत शोच्न सक्ने बताए ।
नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले आगामी नोभेम्बर महिनामा पोखरा र ग्वान्जाउ विच भगिनी सम्बन्ध कायम हुन गइरहेको बताउँदै यसले दुबै नगरलाई फाइदा पुग्ने बताए । ग्वान्जाउमा हरेक वर्ष आयोजना हुने ट्राभल मार्टमा पोखराले भाग लिन सक्ने, त्यहाँको फोहोर व्यवस्थापनको नमुनाबाट शिक्षा लिन सकिने र बढी भन्दा बढी चिनिया पर्यटक नेपाल भित्र््याउने वातावरण बन्न सक्ने भनाई उनले राखे ।
सो अवसरमा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले फोहोरमैला व्यवस्थानको पक्षलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने बताए । फोहोरमैला व्यवस्थापनको काम निकै चुनौतिपूर्ण भएको बताउँदै उनले सामूहिक प्रयासबाट यो संभव हुने बताए । आफूहरु पोखराका कुरा राख्ने भन्दा पनि चिनिया पक्षको अनुभव सुन्न बढी उत्सुक रहेको उनले कार्यक्रममा बताएका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले पोखराको पर्यटकीय विकासका लागि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र फेवा तालको संरक्षण मुख्य विषय भएको स्मरण गराए । फेवा तालको संरक्षणको लागि ताल वरपर व्यवस्थित नाली निर्माण गर्न ग्वान्जाउले सघाउन सक्ने भनाई उनले राखे ।
नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठीले नगरपालिकाले विगतमा गरेको गल्तीका कारण फेवामा अहिले पनि ढल मिसिनै रहेको स्मरण गराउँदै त्यसलाई डाइभर्ट गर्ने तर्फ आफूहरुलाई सहयोगको आबश्यकता परेको भनाई राखे ।
पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार गोविन्दराज पहारीले विगतमा फेवाताल निकै स्वच्छ रहेको र आफूले त्यहाँको पानी समेत पिउने गरेको स्मरण गर्दै अहिले भने तालको पानी छुन समेत आफूलाई घीन लाग्ने गरेको भनाई राखे । ताल संरक्षण र पोखराको पर्यटकीय विकासका लागि ग्वान्जाउको सहयोग आफूहरुले अपेक्षा गरेको भनाई उनले राखे ।
कार्यक्रममा डिपुटी सेक्रेटरी जनरल गु सियाङले नेपाल सरकारका तर्फबाट फेवा संरक्षण, फोहोरमैला व्यवस्थापन र सो सम्बन्धी प्लान्ट निर्माणको ठोस योजना अगाडि सारेर सहयोगको प्रस्ताव गरे ग्वान्जाउ सहयोग गर्न तयार रहेको भनाई राखे । सो अवसरमा कार्यकारी प्रमुख बराल र सियाङको टोलीलाई संघका अध्यक्ष गैह्रेले स्वागत गरेका थिए । परिषद्का अध्यक्ष भुजेलले टोलीलाई टुरिजम इन पोखरा नामक किताव उपहार दिए ।