नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्


काठमाडौँ- नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर शनिबार घर फर्किएकी छन् ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो । यस अगाडि अर्का एकजना समेत पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्कि सकेका छन् ।