एउटा ‘कोहिनूर’ हराएको दिन


– सुमन लम्साल

जीवन समयको प्रयोगशाला हो। हामीहरू त्यही प्रयोगशालाको टेस्टट्युबमा राखिएको केमिकल जस्तै छौं। ईश्वर एउटा बैज्ञानिक जो हामीमाथि निरन्तर प्रयोग गरिरहन्छ। हामीमा कहिले दुखको सल्फरडाइ अक्साइड मिसाइन्छ त कहिले सित्तल हुने डाइहाइड्रो अक्साइड मिसाइन्छ।
केही सिसिहरूमाथि उसको अस्तित्वको अन्तिम समयसम्म पनि प्रयोग भैरहन्छ त केही सिसिहरू थाहै हुदैन कतिबेला ईश्वरको हातबाट खसेर प्याट्ट फुटिजान्छन। हाम्रोमा एउटा मान्यता छ सबैभन्दा बढी सुन्दर र सक्षम सिसिहरू समय नपुग्दै फुटेर गइदिन्छन।

खासमा त्यस्तो चाँहि हुँदैन तर हाम्रो मान्यता पनि गलत छैन किनकि हामीहरू आफूलाई राम्रो लागेको चिज यदि आफूबाट छुट्टियो भने त्यसको अलिक ठुलो अभाव महसुस गर्दछौ। हामीलाई आफूले मन नपराएका कुराहरू हराउलान् त्यति बिघ्न असर पर्दैन। यो मानवीय प्रवृति हो। आजको दिन समयको प्रयोगशालाबाट एउटा उज्यालो सिसा फुटी गएको दिन हो। खोइ ईश्वरले समाउन नजानेर हो या सिसानै कम्जोर भएर हो भुईँमा झरिकन एउटा ठुलो छाप बनाएर सिसा भित्रको रसायन उडी गएको छ सपनाको देशमा। केवल हामीसँग फुटेका टुक्राहरू मात्र बँचेका छन्।

पथ्थर दाइले ट्वीटरको टाइमलाइन स्क्रोल गर्दै फ्याट भन्नु भो “भाइ श्रीकृष्ण त मरेछन नि”। मेरो मस्तिष्कले कानमाथि शंका गर्यो, आँखाहरू बन्द भैराखेका छन् जस्तो लाग्यो। मैल मनमनै प्रार्थाना गरें यो छिटै सपना बनिदियोस्। म हस्याङ फस्याङ गर्दै उठ्न पाउँ र पानी खाएर भन्न पाउँ कस्तो नराम्रो सपना देखियो। तर वास्तविकतालाई हाम्रो चाहना अनुसार किन बदल्न सकिन्थ्यो र? सत्य जे थियो त्यो नै वास्तविकतामा परिणत भैदियो।

तैपनि दाइको विश्वास नलागेर म आफूले नै एकपटक अनलाइन न्युज साइटहरू खोलेर हेरें धेरैको माथि टाकुरामै लेखिएको थियो “अल बिदा श्रीकृष्ण”। अब चाँहि बाध्य भएर मैले आँखाहरू माथि विश्वास गर्नु पर्ने भयो। श्रीकृष्णका आजसम्म मैले हेरेका चलचित्रहरू दिमागमा क्रमैसँग एकपटक नाचे।

बिस्तारै मैले उस्लाई भन्दा बढी १ महिना अगाडि मात्र उसँग विवाह बन्धनमा बाँधिएकी उसकी श्रीमती श्वेतालाई सम्झिए। केही महिना अगाडि मैले इमेज च्यानलमा विजय लामासँग उनीहरूको अन्तर्वार्ता हेरेको थिएँ। उनीहरू दुवैको सम्बन्ध प्रतिको कन्फिडेन्स देखेर म धेरै लोभिएको पनि थिए।

लागेको थियो, यो जोडी कहिल्यै नछुट्टीयोस। अक्सर हाम्रो जीवनको प्रकृयामा लागेको कुरा हुँदैन यही सिद्दान्तको निरन्तरता आज भयो। मेरो दिमागको बटन एकाएक पुराना दिनहरू संकलन गरिएको मेमोरी तर्फ इंकित हुदै गयो। जहाँ सबैभन्दा पहिला त श्री जिउँदा थिए, उनी एउटा नायक थिए, त्योभन्दा पनि बढी मनपर्ने नायक थिए।

मैले उम्केको माछो ठूलो भन्ने हिसाबले उनलाई यतिबेला मेरो बेस्ट हुन् भन्न खोजेको होइन। उनी मेरो बचपनको एक आइडियल पर्सन हुन्। उनको नामसँग जोडिएका मेरो बचपनका थुप्रै कहानीहरू पनि छन्। यति बेला तिनै कहानीहरू मेरो दिमागमा घुमिरहेका छन्।

सायद कक्षा ६ तिर पढ्ने बेला होला। रेडियो नेपालमा सारांश भन्ने कार्यक्रम आउथ्यो। बेलुकाको साढे चार बजे। मैले धेरै जसो भित्ते घडीमा आल्राम लगाएर त्यो कार्यक्रम सुन्ने गर्थें। आधा घन्टाको त्यो कार्यक्रममा एउटा सम्पूर्ण फिल्मको कहानी सुनाइन्थ्यो। बीच बिचमा फिल्मका मुख्य मुख्य सम्वाद पनि सुनाइने गरिन्थ्यो। जसको कारण हामी फिल्मको हिरोलाई देख्नै नपाए पनि उसको आवाजलाई भने राम्ररी नै महसुस गर्न सक्थेउँ।

कार्यक्रमकै निरन्तरताको क्रममा हिउँदे दिनको एक दिन “सुख–दुखको” पालो परेको थियो। कार्यक्रम प्रश्तोताले कालकारको नाममा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचाय….यस्तै यस्तै अरु केही नाम लिए। महको नाम बाहेक अरु नाम मैले नचिनेकोले पनि खासै याद गरिन।

जब फिल्मको कथा अगाडि बढ्दै गयो मलाई त्यो नाति पात्रले खुब मन जित्यो। बाबु आमाले हेला गरे पनि नातिले हजुरबा हजुरआमालाई गरेको प्रेम देखेर म धेरै प्रभावित भएँ। मैले आफूलाई त्यो नाति पात्र सम्झन थाले। यो कथा मेरो घर परिवारसँग पनि केही हदसम्म मिल्थ्यो। मेरा बा आमाले हेला नै त गर्नुहुन्नथ्यो तर उहाँहरूभन्दा हजुरबा हजुरआमालाई मैले धेरै माया गर्छु भन्ने सधै मेरो मनको दाबि रहन्थ्यो।

जब फिल्मको कथा सक्कियो मलाई एउटा कुराले खुब पिरोली राख्यो अब मैले त्यो नाति पात्रको नाम जान्नु थियो। गाउँमा म जस्तै सारांश सुन्ने अरु साथीहरू पनि थिए। म सिधै विनोदको घरतिर लागें। उसले त त्यो नाति पात्रलाई पहिलेदेखि नै चिन्दो रहेछ। उसले भन्यो त्यो त श्रीकृष्ण श्रेष्ठ हो। यसरी मेरो दिमागको मेमोरीमा श्रीकृष्ण श्रेष्ठ भन्ने नाम लोड भएको हो।

गाँउमा बिजुलीका तारहरू माकुराको जालो जसरी तर्ल्याङ र तुर्लुङ झुण्डीए पनि अझै बिजुली भने पुगेको थिएन। बिक्रम बाका छोराहरू जेनेरेटरबाट फिल्म देखाउँथे। रेट भन्ने ज्यादै महँगो लगाउँथे। एउटा फिल्म हेरेको २० रुपियाँ थियो।

सायद यति चर्काे टिकट त त्यो बेला फिल्म हलमा पनि थिएन होला। हामी कहिलेकाँही झ्यालको चरबाट उनीहरूको फिल्म फ्रिमा हेरिदिन्थेउ। तर त्यो फिल्म साथीहरूसँग अलि अलि गफ लडाउनभन्दा बढी अन्त काम लाग्दैनथ्यो। मलाई भित्र पसेर फिल्म हेर्नको लागि दुईवटा समस्या थियो। एउटा त गोजीमा एकैपटक २० रुपियाँ हुदैनथ्यो। अर्को कुरा ३ घण्टासम्म ममिको आँखा छलेर फिल्म हेर्ने भन्ने कुरा असम्भब जस्तै हुन्थ्यो।

तर एक दिन दुईवटै समस्याले हावा खायो। तीजको बेला थियो। माइला बालाई पसलबाट औषधि बेचेर मैले ५० रुपियाँ कमाएको थिएँ। ममी मामाघर जानु भएको मौका थियो। कमलसँग पनि २० रुपिया रहेछ अब हामी २ जना बिक्रम बाकोमा फिल्म हेर्न जाने भयौं। मैले सानैदेखि बुवालाई आँशुले जित्दै आएँ त्यो दिन पनि त्यही भयो। घर प्रकृया पुर्‍याएर आउँदा अलिक समय लाग्यो। फिल्म त सुरु भैसकेको रहेछ हामी हतार हतार गर्दै भित्र पस्यौं।

मलाई जहिले पनि फिलिम हेर्दा हिरो नचिनेसम्म फिल्मको मज्जा नै लाग्दैनथ्यो। गाउँमा अलि धेरै फिल्म हेरी टोपल्ने बिशाल नजिकै थियो मैले उसलाई हिरोको नाम खुसुक्क सोधें। उसले भन्यो राजेश हमालको भाइ हो। नाम कल्पना गरें, दिनेश हमाल होला राजेशको भाइ भनेपछि। गाउँमा पनि राजेशको भाइ दिनेश नै थियो। फिल्म गज्जबको थियो। गज्जबले सकियो पनि। बाहिर आएपछि मैले सागरसँग फिल्मको नाम सोधेँ उसले भन्यो “ए मेरो हजुर।”

“अनि त्यो राजेश हमालको भाइको नाम के रैछ नि?” मैले पोस्टरतिर देखाउदै थपें। कहाँ राजेश हमालको भाइ हुनु त्यो त श्रीकृष्ण श्रेष्ठ हो। मलाई एकदमै ग्लानिको महसुस भयो। यदि कोही मलाई फेरि त्यो फिल्म देखाइदिन्थ्यो भने म गोजीमा बाँकी भएको तिसै रुपियाँ उसलाई दिइदीन्थे। मैले जोसँग आफ्नो नाम जोडेको थिएँ, उसैलाई आफनै अगाडि भएर पनि चिन्न नसक्दा थक्क थक्क भयो।

अब फेरि पनि चिन्दिन कि भन्ने डरले मैले १० रुपियाँको १० वटा श्रीकृष्ण मात्र भएको पोस्टर ल्याएर घरमा टाँसे। त्यसको केही समयपछि बिक्रम बाकोमा “हामी तीन भाइ” चल्यो। पोस्टरमा श्रीकृष्ण देखेपछि मैले सामाजिक र जनसंख्याको क्लास नै हापेर त्यो फिल्म हेरें। फिल्मभन्दा बढी मैले त्यो नातिलाई हेरें अर्थात श्रीकृष्णलाई हेरें।

फिल्म सकिएपछि, मैले आफूलाई श्रीकृष्ण भन्न भनेर केही साथीहरूलाई चकलेट पनि बाँडे। त्यो दिनदेखि साथीहरू श्रीकृष्ण भन्न थाले पनि। त्यसको दुई दिनपछाडि गोरु चराउन जाँदा कमलको फिल्मको सिन सम्झाउदै भन्यो “यदि तँ साँचैको श्रीकृष्ण भए यो रुखबाट हाम फालेर देखा ”। अरुले पनि होमा हो मिलाए। त्यो बेलासम्म म भित्र श्रीको यस्तो भुत बसिसकेको थियो नि म ऊ जस्तो बन्नको लागि जुनसुकै काम पनि गर्न पछाडि नहट्ने भएको थिएँ।

हाम फालेको १५ दिनसम्म खुट्टा मर्किएर कतै हिड्न नसक्ने भएँ। खोइ कुन चाँहिले कुरा लगाइदिएछ ममीको खुब गाली पनि खाइयो। बुवाले भने त्यही बेला सम्झाउनु भएको थियो रिल लाइफ र रियल लाइफको फरक। त्यो पछि भने त्यस्तो मुर्ख कहिल्यै बनिन।

यसरी मेरो बच्चा बेलाबाटै मैले आदर्श मान्दै आएको एक नायकको आज आबशान भएको छ। फेरि मस्तिष्क अहिलेकै मेमोरी भएको डिब्बामा फर्कियो। श्रीकृष्ण बास्तवमा त्यति बिघ्न हिट पनि भएनन् र त्यति धेरै फल्प पनि भएनन्।

मुलधारको फिल्म खेलेर पनि आफ्नो करियरको ग्राफलाई त्यति धेरै उतारचडाबमा नपुर्‍याएका एक सफल नायक चाँहि उनी हुन् नै। मलाई पहिल्यैबाट श्री मन पर्नुको कारण उनले हरेक चलचित्रमा आफ्नो भूमिकालाई गरेको न्याय नै प्रमुख हो।

पथ्थर दाइ र म चिया खाएर छुट्टिउ। म समाचार र कारणहरू बारे थप जानकारी लिन पत्रिकाको कार्यालय पुगें। कार्यालयमा अमृत दाई पनि झोक्राएर न्युज साइटहरू स्क्रोल गर्दै हुनुहुन्थ्यो। दाइले भावुक हुँदै भन्नुभयो “भाइ बिचराले कोहीनुर पनि दर्शकसँग बसेर हेर्न पाएनन्।”

म कोहीनुर कहिलेबाट रिलिज भयो भन्ने कुरामा कन्फ्युज थीएँ। दाइसँग मिति कन्फर्म गरेपछि हामी कोहीनुर हेर्न जाने निधो गर्यौ। मैले जीवनमा पहिलो पल्ट तल्लो तलामा त्यो पनि अगाडिको बेन्चमा बसेर फिल्म हेरें। एकापट्टी हेर्यो अर्को पट्टिको भागमा फिल्म छुट्थ्यो। मलाई फिल्म भरिमा दुई वटा ठाँउमा नराम्रोसँग छोयो।

एक ठाउँमा श्वेता भन्छिन “आमा तपाँई त कमसेकम यत्रो समयसँगै बस्नुभयो मैले त ३० दिन मात्रसँगै बसेर मेरो प्रेम गुमाएँ।” अर्को ठाँउमा श्री भन्छन “आमा मलाई यो बेलामा मर्न मन छैन।” समग्रमा फिल्म मुलधारको उत्कृस्ट बनेको रहेछ। गहभरी आँसु बोकेर हामी दुबै जना बाहिरियौं। बाहिर श्रीको ठूलो तस्विर राखेर भावपूर्ण श्रदान्जली लेखिएको थियो। अघिसम्म जसो तसो रोकिएको आँखाको डिल यहाँसम्म आइपुग्दा धेरैको भत्कियो।

मेरो लागि यो एउटा कालो दिन थियो। जुन दिन नेपाली चलचित्रको एउटा ‘कोहिनुर’ हराएको थियो।

प्रस्तुत साम्रगी सेतोपाटिमा मिति: शनिबार, साउन ३१, २०७१ १३:३२:३९ प्रकाशित भएको हो।