पोखरा । पत्रकार विजय नेपाललाई रोट्रयाक्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
रोेट्रक्याट क्लब अफ पोखराको १७ औं पदस्थापना तथा चार्टर सेरेमनी अवसरमा पत्रकारितामार्फत समाजमा योगदान पु¥याएकोमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का असिष्टेन्ट गभर्नर रविप्रसाद बरालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् । पुरस्कार राशि ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
क्लबका पूर्व अध्यक्ष सुजन लामिछानेले हजुरबुवा महोदत्त र हजुरआमा देवकी लामिछानेको स्मृतिमा हरेक वर्ष प्रदान गर्ने गरी ‘महोदत्त–देवकी लामिछाने स्मृति रोट्रयाक्ट पत्रकारिता पुरस्कार’ स्थापना गरेका थिए । सोही नामको पुरस्कारबाट गत वर्ष पत्रकार प्रकाश ढकाल सम्मानित भैसकेका छन् । त्यसअघि रोट्रयाक्ट पत्रकारिता सम्मान पत्रकार श्याम कुँवर र दीननाथ बराललाई दिइएको थियो ।
पुरस्कार छनोट समिति संयोजक एवं क्लबका पूर्व अध्यक्ष शोभाकान्त सिग्देलले पुरस्कृत व्यक्तित्वको परिचय गराएका थिए । छनोट समिति सदस्यमा संस्थापक सुजन लामिछाने र क्लबका आइपीपी शिव सुनार थिए ।
डेढ देशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार विजय नेपाल हाल राजधानी दैनिकमा पोखरा समाचारदाता र आदर्श समाज दैनिकमा सहायकसम्पादक छन् । सम्मानपछि उनले पत्रकारिता क्षेत्रमा अझ बढी उत्साह र जिम्मेवार थपेको बताए ।
यसैबीच, क्लबमा वर्ष २०१८/१९ का अध्यक्ष अनिष पालिखे नेतृत्वको कार्यसमिति पदस्थापन गरिएको छ । वर्ष २०१७/१८ का अध्यक्ष सुदीप गुरुङको अध्यक्षतामा भएको समारोहमा २०१८/१९ का अध्यक्ष अनिष पालिखे नेतृत्व कार्यसमितिको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का असिष्टेन्ट गभर्नर रविराज बरालले पदस्थापन गराएका हुन् । क्लब अध्यक्ष पाखिलेले आगामी कार्ययोजनाबारे जानकारी दिनुका साथै नयाँ सदस्यको परिचय गराए ।
कार्यक्रममा बोर्ड मेम्बरको परिचय अध्यक्ष पालिखे र प्रमुख अतिथिको परिचय क्लबका आइपीपी शिवलाल सुनारले दिएका थिए । उक्त अवसरमा क्लबद्वारा प्रकाशित स्मारिका ‘आदिम’ विमोचन गरियो ।
प्रमुख अतिथि बरालले क्लबमा रहेर यसरी युवा समुदायले गरेको सामाजिक कार्य अनुकरणीय हुने बताए । उनले पुरानो कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।
समारोहमा रोटरी क्लब अफ पोखराका अध्यक्ष मानकाजी माकाजू, प्रेसिडेन्ट इलेक्ट राजेन्द्रप्रसाद श्रेष्ठ, रोट्रयाक्ट जोन–४ का जेडआरआर दीपेन्द्र घिमिरे, रोट्रयाक्टका डिएलटी सञ्जीव पौडेल, रोट्रयाक्ट पोखराका पूर्व अध्यक्षहरु प्रकाशदेव पालिखे, शोभाकान्त सिग्देल, शिव सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दोस्रो सत्रको अध्यक्षता वर्ष २०१७/१८ का अध्यक्ष अनिल पाखिलेले गरेका थिए । क्लब सचिव विश्वदर्शन पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन क्लब एडिटर प्रमेश गौतम र सहसचिव शान्ति अधिकारीले संयुक्त गरेका थिए । धन्यवाद ज्ञापन अमृत सुवेदीले गरे ।