पोखरा – पोखरा २८, माझठानाबासीले आइन्दा प्लास्टिक नजलाउने प्रतिवद्धता गरेका छन् । फोहोरलाई व्यवस्थापन गर्ने निहुँ र आगो सल्काउनका लागि दिनमा २, ३ पटक प्लास्टिक बाल्ने गर्ने गरेका उनीहरुले प्लास्टिक बाल्दा हुने बेफाइदबारे जानकारी पाएपछि यस्तो प्रतिवद्धता जनाएका हुन् ।
जेआइटिसी वेस्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा मंगलबार भएको फोहोरमैलासम्बन्धी अभिमुखीकरणमा पोखरा महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बरालले प्लास्टिक बाल्दा बाल्नेलाई मात्र नभएर वातावरण प्रदूषणसहित परिवार र समाजमा समेत असर पर्ने बताइन् । उनले प्लास्टिकजन्य फोहोर बाल्दा, जथाभावी फाल्दा हुने असरबारे प्रस्तुतिसमेत राखेकी थिइन् ।
शाखा प्रमुख बरालले भनिन्, ‘प्लास्टिक हावापानी, घामले टुक्रा टुक्रा भए पनि सड्दैन । हजार वर्षसम्म पनि गल्दैन ।’ उनले वर्गीकरण गरी पुनप्रयोग, रिसाइकल र कम्पोस्ट मल निर्माण गर्न सकिने उल्लेख गरिन् । स्मार्ट महानगर र स्वस्थ नागरिक बनाउन सरसफाइको ठूलो भूमिका रहने उनको भनाइ छ ।
महानगरले केही वडाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिएको छ । जेआइटिसी वेस्ट म्यानेजमेन्ट कम्पनीले पोखरा २६ देखि ३३ नं वडाको सरसफाइको जिम्मेवारी पाएको छ । नागरिकलाई सचेत बनाउँदै स्मार्ट महानगर बनाउने हरेक वडामा सचेतना अभियान चलाइने प्रालिका प्रबन्ध निर्देशक सञ्जु गुरुङले जानकारी दिइन् ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा डस्बिन वितरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरणसमेत दिइएको थियो । पोखरा वडा नं. २८ को आयोजनामा कार्यक्रम भएको हो ।