जनकपुरधाम – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारभ्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरको कार्यक्रम सम्पन्नपछि काठमाडौँं फर्किने र भारतीय प्रधानमन्त्री मोदी जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनु हुनेछ भन्नुभयो ।
जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुहुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते जनकपुरधाम आउनु हुने कार्यक्रम छ । सो दिन उहाँ जानकी मन्दिरमा पूजाअर्चना गरी र बाह्रबिगाहा रङ्गभूमि मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने जनाइएको छ । रासस