हुम तमु
पोखरा, २५ साउन-
आदिवासी जनजाति आन्दोलनका अगुवा परशुराम तामाङले आदिवासी जनजातिको पहिचानको सम्मान नगरिए विद्रोह हुने चेतावनी दिनुभएको छ ।
आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीय संविधान नाराका साथ मनाइएको पोखरा सभागृहमा शनिवार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आयोजित २० औं विश्व आदिवासी दिवसको विशेष समारोहका प्रमुख अतिथि रहनु भएका तामाङले पहिचान नागरिकको अधिकारलाई कसैले हनन सक्दैन यदी यस्तो दुस्साहस गरिए पहिचान स्थापनार्थ प्रतिक्रान्ति हुने बताउनुभयो ।
आदिवासी जनजातिमो पहिचान स्विकार नगरिए कसै पहिचान स्विकार गरिरहनुपर्छ भन्ने छैन भन्नुहुदै आदिवासी जनजातिहरुले अहिलेको एकल जातिय राज्य तोडेर आम नेपालीको राष्ट्रियता सम्बोधनको मुलुक चाहेको बताउनुभयो ।
पहिचानसहितको स्वशासन मुलुक रुपान्तरण गर्ने बाटो हो भन्नुहुदै विगतदेखि विभेदमा पारिदै आएको आदिवासी जनजातिहरुको अधिकार माग्ने मगन्ते होईन सत्ता सञ्चालन गर्ने आँट गर्नुपर्ने उहाँको भनाई थियो । आदिवासी जनजातिले पहिचानसहितको विकास चाहेको बताउनुहुदै आदिवासी जनजातिलाई बीस वर्ष सत्ता सञ्चालनको अवसर दिए समृद्ध नेपाल निर्माण गर्ने प्रमुख अतिथि तामाङको दावी थियो ।
बहुपहिचानको शब्द झुण्ड्याएर पहिचान पक्षधरहरुलाई अल्मल्याई फेरि पनि एकल जातिय संरचनालाई निरन्तरता दिन खोजेको षडयन्त्रको पर्दाफास गर्न जरुरी छ भन्नुभयो ।
हामीले स्वशासन र स्वायत्तता भएको पहिचानसहितको तमुवान मागेको हो यसलाई वास्तविकता नबुझी गलत व्याख्या गर्ने माध्यमहरुप्रति समेत उहाँको आपत्ति थियो ।
सकारात्मक सोंच भएकाहरुबाट मात्रै मुलुक परिवर्तन हुने बताउनुहुदै पहिचान विरोधीहरुको बहुसंख्या रहेको हालको संविधानसभाले आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीय संविधान निर्माण नहुनेभएकाले सडक आन्दोलनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
उहाँले दिवसको महत्वको चर्चा गर्नुहुदै संयुक्त राष्ट्र संघमा औपचारिक रुपमा आदिवासी जनजातिको अधिकारका लागि छलफल गरिएको दिन अगष्ट ९ लाई विश्व आदिवासी दिवसको रुपमा मानिदै आएको बताउनुहुदै संयुक्त राष्ट्रसंघले घोषणा गरेको आदिवासी जनजाति अधिकार सम्वन्धी घोषणापत्र, अन्र्तराष्ट्रिय श्रम संगठन अभिसन्धि १६९ तत्काल लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
सभासद विन्दा रानामगरले राज्यको निकायहरुमा उपस्थिती हुन नसक्दा आदिवासी जनजातिले अधिकार प्राप्त गर्न नसकेकाले आदिवासी जनजातिहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले तोकिएकै समयमा संविधान बन्ने बताउनुभयो ।
कार्यक्रममा कास्कीका रहेका आदिवासी जनजातिका संघ संस्थाहरु पुन, मगर, थकाली, दुरा ह्योल्मो, तामाङ, गुरुङ, नेवार जातिको मौलिक साँस्कृतिक प्रस्तुति गरिएको थियो । साँस्कृतिक कार्यक्रमको सञ्चालन साँस्कृतिक संयोजक बुद्धिमान दुराले गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुर्णबहादुर रानामगरले स्वागत र सचिव पुर्ण ह्योल्मोले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यस अघि समारोहको प्रमुख अतिथि तामाङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
यसअघि पोखराको चिप्लेढुंगाबाट झाँकी जुलुस सहित महेन्द्रपुल, भिमसेनचोक, नयाँबजार, लखनचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगी विशेष समारोहमा परिणत भएको थियो । र्यालीमा कास्कीका आदिवासी जनजाति संघ संस्थाहरुको नेतृत्वमा मौलिक भेषभुषामा बृहत सहभागिता रहेको थियो ।
विश्व आदिवासी दिवस आगमनको अवसरमा यसअघि कस्केली आदिवासी जनजतिहरुले सप्ताहव्यापी विबिध कार्यक्रम सम्पन्न गरेका थिए ।