महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दालमोठ उद्योग संचालनमा


पोखरा – महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले महालक्ष्मी दालमोठ उद्योग संचालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिका १३ को अनुदान रकम र दिदीबहिनी समूहको संयुक्त प्रयासमा उद्योग संचालनमा ल््याइएको हो । स्थानिय महिलाहरुले दिदी बहिनी समुह गठन गरेर वडा नम्बर– १३ को पाँच लाख रुपैयाँ र दिदी बहिनी समुहको पाँच लाख गरी दश लाख रुपैयाँको लागतमा उद्योग संचालनमा ल्याइएको छ ।

महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १३ को पहलमा उद्योग स्थापना भएको हो । वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाको सक्रियतामा पहिलो पटक महानगरको लगानीमा घरेलु उद्योग सञ्चालनमा आएको हो । पोखरा लेखनाथ १३ नव दुर्गाटोलमा महालक्ष्मी दालमोठ उद्योग नाम दिएर सञ्चालनमा आएको उद्योगको एक कार्यक्रमका बीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले दिदी बहिनी समुदायलाई हस्तान्तरण गरे ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ को स्वालम्बन कार्यक्रमद्धारा सञ्चालित उद्योग पोखरा लेखनाथ महानगरद्धारा सञ्चालित पहिलो उद्योग भएको वताउदै मेयर जिसीले वडा नम्बर १३ मा केही महिलाहरुलाई उद्यमी बनाउने कोसिस गरेको र यो काम दिगो टिकाउ र गुणस्तरिय बनाउनका लागी महानगरले साथ दिने वताए । स्थानिय तहको निर्वाचनको वेलामा जनतासंग पोखरालाई उद्यमीको शहर बनाउने प्रतिबद्धता ब्यक्त गरेको स्मरण गर्दै सानो लगानीमा आत्मनिर्भर, स्वरोजगार र स्थानिय उत्पादनमा जोड दिइने बताए । उनले स्थानिस्तरमा उत्पादीत बस्तुलाई बजारीकरण गराउन पहल गरिने समेत बताए । महालक्ष्मी दालमोठ उद्योगको पहिलो उत्पादन नमुनायोग्य रहेकाले बजार खोज्न नपर्ने वताउदै जिसीले यसको प्रवद्र्धनका लागी आफुले सहयोग गर्ने समेत बताए ।

त्यस्तै वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले आर्थिक क्रान्तिको सुरुवात आफ्नै ठाँउबाट गर्नुपर्छ भन्ने ठानेर घरायसी काम बाट फुर्सद भएको समयलाई सदुपयोग गर्नका लागी आफ्नो वडामा भएका दिदी बहिनीहरुलाई समाहित गरि उद्योग सञ्चालन गरेको वताए । १० लाखको लगानीमा सञ्चालनमा आएको उद्योगमा १३ नम्बर वडामा रहेका १७ जना दिदीबहिनीहरु सहभागी रहेको उनले बताए । उनले वडाभित्रका महिलालाई अवसर प्रदान गरेर स्वरोजगर बनाउन प्रयास गरिएको बताए । स्थानिय महिलाको पाँच लाख र त्यसमा वडाको स्वावलम्वन कार्यक्रमबाट पाँच लाख रुपैयाँ सहयोग प्रदान गरि उद्योग संचालनमा ल्याइएको वडा अध्यक्ष लामाले जानकारी दिए । आठ आना जग्गा मासिक ५ हजार तिर्ने गरि भाडामा लिएर उद्योग संचालन गरिएको छ ।

उद्योगको स्वामित्व पाएको दिदी बहिनी समुह १३ नम्बर वडाका सीता पहारीले स्थानिय निकायको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनीधिहरुले आफ्नो वडामा रहेका दिदिबहिनीहरुलाई समाहित गरेर उद्योग सञ्चालनमा ल्याएर आफुहरुलाई स्वरोजगार बनाइ श्रीमानसंग आर्थिक रुपमा भर पर्न नपर्ने विश्वास ब्यक्त गरिन् । उद्योगबाट दालमोठ, भुजिया, बदाम, फ्राइ चिउरा, ढुम्रो लगायतका सामाग्रीहरु उत्पादन हुदै आएको वताउदै पहारीले आगामी दिनमा यसको प्रचार प्रसार गरी उद्योगलाई प्रवद्र्धन गर्न सवैलाई आग्रह गरिन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ ले जस्तै अन्य वडाहरुले पनि थोरै लगानीमा यस्तै उद्योगहरु सञ्चालन गर्न सकेको खण्डमा महिला दिदीबहिनीहरु स्वरोजगार हुने देवमाया गुरुंङले बताइन् । उनले घरमा त्यत्तिकै वितेको समय अव उद्यममा खर्च गर्ने र स्वरोजगार बन्ने बताइन् ।