काठमाडौं – प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना ४ दिन भित्र सक्ने गरी निर्वाचन आयोगले तयारी गरेको जनाएको छ ।
मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका निर्वाचन आयुक्त इश्वरीप्रसाद दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीको ४ दिन भित्र र समानुपातिकतर्फको ८ दिन भित्रमा मतगणना कार्य सक्ने ब्यवस्था मिलाएको जानकारी दिएका हुन् । यसका लागि आयोगले शिक्षक बाहेकका सरकारी कर्मचारी र मत गणनास्थलको तयारी समेत गरेको जनाएको छ । कर्मचारीहरु बीच २४ घण्टामा ७ घण्टाका दरले ३ सिफ्ट बनाएर मतगणना गरिने आयूक्त पौड्यालले बताए ।
८ दिनभित्र मतगणनाको सम्पूर्ण काम सक्ने आयोगको लक्ष्य रहेको उनले बताए ।आयोगले प्रतिनिधीसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैसाथ गर्ने बताएको छ । तर एकैचोटी गन्न संभव नभए पहिला प्रत्यक्षतर्फको र त्यसपछि समानुपातिकतर्फको मतगणना गर्न सक्ने गरी मूख्य निर्वाचन आधिकारीलाई अधिकारसमेत दिएको छ । स्थान, समय र कर्मचारीको अभाव भएमा समानुपातिकतर्फको मतगणना पछाडि गरिने भएको हो । मतदाताको संख्या हेरी मतगणनामको २४ घण्टाभित्र परिणाम नआए थप कर्मचरी ब्यवस्थापन गरिने आयोगले जनाएको छ ।
गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मतगणना २१ गते ५ बजे पछि शूरु हुने आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचनको मतगणना भने मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबिच सहमती भएपछि मात्र शुरु गरिने भएको छ ।आयोगले मतगणना स्थलमा सुरक्षा ब्यवस्था कडा गर्ने भएको छ । मतगणना स्थलमा प्रवेश गर्ने कसैलाई पनि सलाई, लाइटर, एसिडजस्ता सामग्री वा अन्य घातक समान लान रोक लगाएको छ । यस्तै मतगणना स्थलमा प्रवेश पाएका मध्ये मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, तथा सुरक्षा निकायका प्रमुख बाहेक अरुलाई मोबाइल फोन, क्यामरा, अडियो तथा भिडियो खिच्ने उपकरण लैजान निषेध गर्ने जनाएको छ ।
मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधी र मतगणक बस्ने स्थलको निश्चित दुरी बनाउने, दुई पक्षका बिचमा टेबुल, बेन्त, डेस्क, डोरी वा अन्य प्रकारका छेकबार राखिने तयारी छ । मतगणना स्थलमा उम्मेदवार, निर्वाचन प्रतिनिधी र मतगणना प्रतिनिधीले कुनै पनि हालतमा मतपत्र छुन नपाउने गरी छेकबार राख्ने र उच्च सुरक्षा प्रबन्ध मिलाउने आयोगले जनाएको छ । मतगणना स्थलमा सिसीटिभी समेत जडान गरिने भएको छ ।