पोखरा – पशुपालनमा लाग्न किसानहरुलाई प्रेरित गर्ने उदेश्यले केही वर्षअघि देखी सुरु गरिएको अनुदान वितरणका कार्यक्रमहरु पोखरा लेखनाथ महानगरक्षेत्रभित्र यस वर्ष पनि संचालन हुने भएको छ ।
विगतका वर्षहरुमा जिल्ला पशु सेवा कार्यालय मार्फत जिल्लाभर संचालन हुने यो कार्यक्रम स्थानीय तहको पुर्र्नंसंरचनापछि पहिलो पटक महानगरमा संचालन हुँदै छ ।
महानगरको पशु सेवा शाखाले यस वर्ष १ करोड ७३ लाख ३१ हजार अनुदान स्वरुप प्रत्यक्ष रुपमा किसानहरुलाई वितरण गर्न लागेको छ । शाखा प्रमुख ठगेन्द्रप्रसाद अर्यालले आईतवार आयोजित आव ०७४÷०७५ को स्विकृत वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा सो जानकारी दिएका हुन् । अनुदान लिनको लागि प्रश्ताव आव्हान गरिएको र पेस भएका प्रश्तावहरुलाई अनुगमन गरेपछि छनौट गरिने अर्यालले वताए ।
महानगरका प्रमुख मानवहादुर जिसीले केही फर्महरु अुनदान लिनको लागि मात्र भएपनि दर्ता गर्ने गरिएकोले मेहनत गरेको वास्तविक किसानले मात्र अनुदान पाउनु पर्ने विचार राखे । जिसीले अव निर्वाहमुखी भन्दा पनि व्यवसायिक रुपमा पशुपालनको खाचो रहेकोले ईच्छाशक्ति भए स्रोतको अभाव नहुने धारणा राखे ।
कार्यक्रममा क्षेत्रीय पशु स्वास्थ्य निर्देशनालयका प्रमखु डा.ठगेन्द्रपू्रसाद अर्याल, महानगर कृषि शाखाका प्रमुख मनोहर कठरिया, पशु प्रजनन केन्द्रका प्रमुख रुद्रप्रसाद पौडेल, वडा नं १६ का अध्यक्ष जीवन आचार्य , पशु विकास अधिकृत सहदेव पौडेल, पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठ तथा पशुपालक कृषकहरु लगायतले भनाई राखेका थिए । पशु शाखाले यस आर्थिक वर्षमा २ करोड ४० लाख रुपैयाको बजेट विनियोजन गरेको छ ।