प्रदेश नम्बर ४ का ३ जिल्ला अति संवेदनशील


पोखरा –  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ४ का गोरखा, लमजुङ र म्याग्दी सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ।

पहिलो चरणमा हुने ६ जिल्लामध्ये प्रदेश नम्बर ४ का ३ जिल्ला अति संवेदनशीलमा रहेका छन्। तीमध्ये गोरखामा ‘हेभिवेट’ का उम्मेदवार प्रतिस्पर्धा हुनु र दलीय गठबन्धन र विप्लव माओवादीको कारण सुरक्षा निकायले अति संवेदनशील मान्दै उच्च सुरक्षा सतर्कता अपनाएको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले बताए ।

उनले स्थानीय तह निर्वाचनको तुलनामा अहिले सुरक्षा थ्रेट बढी भएकोले सोही अनुसार सुरक्षा योजना बनाएको उल्लेख गरे। स्वच्छ र निष्पक्ष निर्वाचनका दलीय गठबन्धन, विप्लव माओवादी र खुला सीमा प्रमुख चुनौती रहेको उनको भनाई थियो। दलको आचारसंहिता कार्यान्वयन गराउन कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने बताए।

उनले सहरी क्षेत्रमा घटना भएको ५ देखि १० मिनेटभित्र सुरक्षाकर्मी पुग्छन् भने अन्यत्र बाटो सहज नभएको ठाउँमा ३० देखि ४५ मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन् । मतदानस्थलमा सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने छन् भने बाहिरी घेरामा नेपाली सेनालाई खटाइने सुरक्षा व्यवस्था मिलाएको अर्यालले बताए।

सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान केन्द्रलाई १९ पटकसम्म अनुगमन गर्ने किसिमको सुरक्षा योजना रहेको उनको भनाई थियो। उनले भने ‘सुरक्षामा कुनै समस्या देखिँदैन तर मतदान प्रक्रियामा ढिलाई भने हुन सक्नेछ।’

प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले सुरक्षा दृष्टिकोणले प्रदेश ४ मा २०५ अतिसंवेदनशील, ४६० संवेदनशील र ५८२ सामान्य मतदान केन्द्र रहेको बताए। यस प्रदेशका कुल ११ जिल्लामा १२ सय ४७ मतदानस्थल छन् भने २ हजार ५१ वटा मतदान केन्द्र रहेका छन्।

मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनमा गोरखाका ४९ मतदानस्थल अतिसंवेदनशील, ४१ संवेदनशील र २ वटा सामान्य छन् ।लमजुङमा १८ वटा अति संवेदनशील, ४९ संवेदनशील र ३६ सामान्य छन् भने म्याग्दीका २५ मतदानस्थल अति संवेदनशील, ३६ संवेदनशील र ११ सामान्य गरी वर्गिकरण गरि सुरक्षा व्यवस्था मिलाएको उनले बताए।

यसरी ३ जिल्लामा अति संवेदनशील मतदानस्थल ९२ वटा रहेका छन्। पहिलो चरणमा यस प्रदेशका गोरखा, लमजुङ, म्याग्दीसहित, बागलुङ, मनाङ र मुस्ताङमा मतदान हुँदैछ।

सुरक्षाका लागि नेपाल प्रहरीका ८ हजार, म्यादी प्रहरी १० हजार ७ सय भित्री घेरामा परिचालन हुनेछन्। मतदानस्थलमध्ये अति संवेदनशीलमा १५ जना, संवेदनशीलमा ११ जना र सामान्यमा ८ जना नेपाली प्रहरी र म्यादी प्रहरी रहनेछन्। प्रदेश नम्बर ४ मा १२ सय ४७ मतदान स्थलमा २ हजार ९१ मतदान केन्द्र रहेका छन् । ती केन्द्रमा १५ लाख ६८ हजार मतदाता मतदानमा सहभागी हुने छन्। साभार : सेतोपाटी