तोकिएकै मितिमा निर्वाचन गराउनु राष्ट्रका लागि आवश्यक : राष्ट्रपति


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवबीच बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराएका थिए । उनले सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामग्र्रीहरुको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको जानकारी पनि राष्ट्रपतिसमक्ष गराए ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले आयोगले राम्रो तयारी गरेकोमा सन्तोष प्रकट गर्दै तोकिएकै मितिमा निर्वाचन गराउनु राष्ट्रका लागि आवश्यक रहेको बताएको अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

‘राष्ट्रपतिले निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा छैन, सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौं र ढुक्क भएर अगाडि बढ्नुहोस्,’ राष्ट्रपति भनाई उद्धृत गर्दै ढकालले भने । रासस