पोखरा – कास्कीको सिक्लेसमा सञ्चालित ‘सिक्लेस जलविद्युत आयोजना’को निर्माण कार्य सकिएको छ । २ अर्ब ५ करोड रुपैयाँ लागतमा आयोजनाको निर्माण सम्पन्न भएको आयोजनका निर्देशक किरण केसीले जानकारी दिए । १३ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक सिक्लेस हाइड्रोपावर कम्पनी हो ।
‘आयोजनाको काम सकेर परीक्षण सुरु भएको छ,’ केसीले भने । आयोजनाबाट उत्पादित विद्युत परीक्षण पछि तीन साताभित्र राष्ट्रिय प्रशारण लाइनमा जोडिने केसीले जानकारी दिए । आयोजनाको निर्माण साढे ३ वर्ष अगाडिबाट सुरु भएको हो । २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प र नाकाबन्दीले ढेड वर्ष ढिलो भएको केसीले बताए ।
मादी गाउँपालिका (साविक पार्चे गाउँ विकास समिति) स्थित सिक्लेस गाउँ नजिकैको मड्क्यूखोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई सुरुङबाट ३ किलोमिटर तल झारेर विद्युत उत्पादन गरिएको छ । उत्पादित विद्युत १३२ केबी प्रशारण लाइन लेखनाथस्थित बुढिबजामा जडान हुँदैछ । आयोजनास्थलदेखि प्रशारण लाइनसम्मको २५ किलोमिटर दुरीको प्रशारणलाइन मध्ये आधा आयोजनाले नै बनाएको केसीले जानकारी दिए । प्रशारण लाइन बनाउन मात्र आयोजनाले करिब ३० करोड खर्च गरेको केसीले जानकारी दिए ।
आयोजनाको निर्माण कार्य केसी कन्ट्रक्सनले गरेको हो । आयोजनामा नेपाल बैंकको अगुवाइमा ७ ओटा विभिन्न बैंकले लगानी गरेका छन् । आयोजनाको विद्युतगृहमा ६ दशमलब ५ मेगावाट क्षमताको २ ओटा ‘पेल्टन ट्वाइन’ छन् । ‘रन अफ रिभर’ प्रविधिमा बनेको लागेको आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग हिउँदको समयमा प्रति युनिट ७ र वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँमा विद्युत खरीदबिक्री सम्झौता (पीपीए) गरेको छ ।
आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि नेपालको लोडसेडिङ घटाउन केही भएपनि योगदान पुग्ने अपेक्षा गरिएको छ । सिक्लेस जलविद्युत आयोजनाका लगानीकर्ताले यसअगाडि ४ मेगावाट क्षमताको गण्डकी हाइड्रोपावर, १ मेगावाट क्षमताको सेती १ र ४ दशमलव ५ मेगावाट क्षमताको सेती २ परियोजनामा लगानी गरिसकेका छन् । ७ मेगावाट क्षमताको युनाइटेड इदी मर्दी र ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर दोस्रोको निर्माण जारी छ । इदिमर्दी १ अर्ब २५ करोड रुपैयाँ र विजयपुर दोस्रोमा ९० करोड रुपैयाँ लगानी हुँदैछ । ‘हाम्रो समूहले जलविद्युत क्षेत्रमा लगानी बढाइरहेको छ,’ केसीले भने, ‘देशको समृद्धिका लागि जलविद्युत क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।’ पत्रकार सुरेन्द्र पौडेलले खबर लेखेका छन् ।