कुनै पनि बहानमा निर्वाचन सारिए सैह्य नहुने बाम गठबन्धनको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौँ – बाम गठबन्धनले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि बहानमा सारिए आफुहरुलाई सैह्य नहुने चेतावनी दिएका छन् । बिहीबार संयुक्त पत्रकार सम्मलेन गर्दै गठबन्धनले यस्तो चेतावनी दिएको हो ।

नयाँ बानेश्वरमा विहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको अवस्थामा चुनाव सार्न नहुने बताए । नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम-कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुन जान्छ ।’

एमाले अध्यक्ष ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताए । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्तरुपमा मतपत्र तय गरेको भन्दै उनले भने, ‘अब ससाना कुरामा अल्झिने समय छैन ।’

पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता पम्फा भुषालले आगमी मंसिर १० र २१ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे भ्रम र अन्यौल सिर्जना भएको भन्दै यदि कुनै बहानामा निर्वाचन सारिए बाम गठबन्धनलाई मान्य नहुने बताइन् ।

उनले प्रतिनिधि र प्रदेश सभाका मतपत्रका बारेमा अदालत लगायतको बहानामा निर्वाचन सार्ने प्रयास भएको भन्दै त्यसका लागि सम्पूर्ण नेपाली जनतालाई सचेत रहन आग्रह गरिन् ।