काठमाण्डौ – दिलबहादुर घर्ती र देवप्रसाद गुरुङका ओठमाथि जुंगाका रेखी देखिँदैनन् । ‘लामो जुंगा भएकाहरूको जिल्ला’ भनिने लमजुङको एक मात्र निर्वाचन क्षेत्रमा यिनै दुई नेता मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका मुख्य प्रतिस्पर्धी हुन् । फरक सैद्धान्तिक आधार र विचार बोक्ने पार्टीबाट प्रतिस्पर्धामा उभ्याइएका यी नेताका आनीबानी भने मिल्दाजुग्दा छन् । दुवै धेरै नबोल्ने नेताका रूपमा चिनिन्छन् ।
कांग्रेस नेता घर्ती लोकतान्त्रिक गठबन्धन र माओवादी नेता गुरुङ वाम गठबन्धनका साझा उम्मेदवार हुन् । संविधानसभा निर्वाचन २०७० मा यी दुवै नेता प्रत्यक्ष चुनाव लडेनन् । घर्ती समानुपातिकबाट सांसद भए ।
संविधान निर्माणमा सामेल भए । गुरुङ वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेर निर्वाचन बहिष्कार गरे । संविधानसभा निर्वाचन २०६४ मा भने घर्ती लमजुङ क्षेत्र नं २ बाट पराजित भए ।
गुरुङ मनाङ र कास्की–१ दुई क्षेत्रबाटै सभासद निर्वाचित भए । यसपालि संघीय संरचनाले यी दुई नेतालाई सँगै चुनाव लड्न जुराइदिएको छ । घर्ती र गुरुङ दुवै आदिवासी जनजाति हुन् तर कहिल्यै जनजातिका मुद्दा नबोकेको आरोप दुवैमाथि लाग्दै आएको छ ।
लमजुङमा ०४७ यताका हरेक चुनाव जित्दै आएको कांग्रेसले संविधानसभा निर्वाचन ०६४ मा भने साख जोगाउनै सकेन । एमाले र माओवादीले एक/एक क्षेत्रमा कम्युनिस्ट झन्डा फहराए । तत्कालीन क्षेत्र नं. १ माओवादीले जित्यो, २ एमालेले ।
०७० मा एमालेले क्षेत्र नं २ गुमायो, कांग्रेसले झन्डा फहरायो । १ मा भने एमालेले जित्यो । अहिले एकै क्षेत्रमा सीमित लमजुङको गुमेको साख फर्काउन कांग्रेसले घर्तीलाई अघि सारेको छ । कम्युनिस्ट झन्डा फहराउन वाम गठबन्धनले गुरुङलाई जिम्मा दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।