कृष्ण अधिकारी, टोकियो – गैर-आवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय समितीका नव निर्वाचित केन्द्रिय अध्यक्ष भवन भट्टले आफूले घोषणा पत्र अनुसारनै काम गर्ने बताएका छन् ।आइतबार बिहान एनआरएनएको अध्यक्ष बनेर पहिलो पटक कर्मभुमी जापान आईपुगेका भट्टलाई जापानबासी नेपालीले स्वागत गर्ने क्रममा यस्तो बताएका हुन् ।
म आफ्नो स्पष्ट कार्यदिशा र टिम परिचालन गरी विश्वभर रहनुभएका प्रवासी नेपालीहरुको भलाईको निम्ती काम गर्नेछु अझ भनौ ”घोषणा पत्र” बोकेर हिंड्नेछु र सोही अनुरुप काम गर्नेछु, उनले भने । विश्वभरबाट आएका प्रतिनिधिले असाध्यै विश्वास गरेर मत दिनु भएको छ त्यो मतको म भरपुर सदुपयोग गर्नेछु, विदेशका नेपाली र साथ साथ नेपालको सम्वृद्धि पनि एनआरएनएका आफ्ना भूमिका छ्न ति कार्यपनि प्राथमिकतामा पर्नेछ्न ।
साथै एनआरएनएले अबको दुई बर्षमा नेपालमा तीन सय मेगवाट बिजुली उत्पादन गरिने समेत प्रतिबद्दता ब्यक्त गरिएको जानकारी दिए ।

भट्टले एनआरएनएलाई स्मार्ट एनआरएनए, भर्जन दुई एनआरएनए र नयाँ पुस्तालाई प्रभावकारी बनाउने एनआरएनए बनाउने लगयतका महत्वाकाँक्षी योजना लिएर मैदानमा उत्रिएका थिए । गत अक्टोबर १४ देखी १७ सम्म काठमान्डौमा सम्पन्न ८ औ विश्वसम्मेलन मार्फत अत्याधिक मत प्राप्त गरी केन्द्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।
टिबीआई ग्रुपका अध्यक्ष भट्टको नेतृत्वमा अतिथी देबो भव: जस्तो अत्यन्त राम्रो कामको थालनी समेत भएको थियो जुन हाल नेपालका सम्पूर्ण जिल्ला र विश्वका ७७ वटै देशमा संचालित छ ।
अध्यक्ष भट्टलाई गैर-आवासीय नेपाली संघ जापानका उपाध्यक्ष सरोज कुमार खत्री लगायत जापानमा क्रियशिल राजनीतिक पार्टी, एनआरएनए जापान र संघ संस्थाका प्रतिनिधिहरु र जापानबासी नेपालीहरुले हानेदा बिमानस्थलमा स्वागत गरेका थिए ।