अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सुरु, मोरिस हर्जोगको शालिक शिलान्याश


पोखरा –  हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको आधार शिविरमा आरोहणको ६७ वर्ष पछि विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको शालिक शिलान्याश गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सुरु भएको छ ।

विभिन्न तीन चरणमा गरिने महोत्सवका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुधबार आधार शिवरमा शालिक शिलान्यास सहित विभिन्न कार्यक्रम गरिएको हो । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहण सुरु भएका कारण सधैं चासो र चर्चामा रहेको यो हिमाल र समग्र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रमममा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका तर्फबाट उक्त क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानको माग गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी र सांसद शारदा पौडेललाई ध्यानाकर्षण पत्र प्रस्तुत गरिएको थियो । ध्यानाकर्षण पत्रमा पदमार्ग क्षेत्रमा लामो समयदेखि होटेल सञ्चालन गर्दै आएका व्यवसायीको भोगाधिकारको सुनिश्चितता, पदमार्गको स्तरोन्नति, होटलका कोठाको क्षमता अभिबृद्धि लगायतका विषय समेटिएको छ ।

महोत्सवको बुधबार आयोजित उद्घाटन समारोहमा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले विश्वमा नै सबैको चासो चर्चा हुने अन्नपूर्ण हिमाल जस्ता हिमश्रृङखला र अन्य पर्यटकीय सम्पदा नेपालमा रहेर पनि त्यसको उपयोग गर्न नसकेको बताए ।

“विश्वमा अन्य राष्टसँग नभएका तर हामीसँग भएका त्यस्ता सम्पदा के छन्, सर्वप्रथम हामीले त्यसको पहिचान गर्न सक्नुपर्छ,” उनले भने, “पर्याप्त सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसक्दा हामी पछि परेका छौं ।” अन्नपूर्ण हिमाल सहित यस आसपासका क्षेत्रको पर्यटकीय विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेकामा उहाँले जोड दिए ।
सांसद शारदा पौडेलले अन्नपूर्ण क्षेत्र पर्याप्त पर्यटकीय सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बताउँदै यस क्षेत्रमा हिमाली दृश्यावलोकन, पदयात्रा आदिलाई व्यवस्थित गर्न सके मात्र पनि यस क्षेत्रको आर्थिक एवम् सामाजिक विकास गर्न सकिने बताइन् ।

महोत्सव आयोजक समितिका संयोजक ललित गुरुङले अन्नपूर्ण क्षेत्रको समग्र पर्यटकीय विकास तथा यहाँका्े पर्यटन प्रवद्र्धनका उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले पर्यटनको वास्तविक राजधानी अन्नपूर्ण क्षेत्र भएको बताउँदै यहाँको पर्यटकीय विकासका लागि जस्ता योजना ल्याउन पर।े पनि गाउँपालिका तयार भएको बताए ।

अन्नपूर्ण हिमालको दृश्यावलोकनका साथै यहाँको पदयात्रामा आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी पदमार्गको उचित व्यवस्थापन, होटेलको क्षमता अभिबृद्धि आदि विषयलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने उनको भनाइ छ । महोत्सव आयोजक समितिका महासचिव दीलिप गुरुङले धेरै सम्भावना रहेर पनि पूर्वाधार विकास, बाटोघाटो आदिका कारण अझै यो क्षेत्रमा अपेक्षित विकास गर्न नसकिएको बताए ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अन्नपूर्ण आधार शिविरमा गरिएको महोत्सव यस क्षेत्रको समग्र विकास एवम् समृद्धिका लागि कोषे ढुङ्गा सावित हुने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारी, पर्यटन व्यवस्थापन उप समिति छोम्रुङका अध्यक्ष इन्द्रमणि शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, महोत्वका सह संयोजक भुवनेश्वर गुरुङ, वडा नं ११ का अध्यक्ष हीमबहादुर गुरुङ लगायतले अन्नपूर्ण क्षेत्रको महत्व र यसका सम्भावना बारे प्रकाश पारे ।

उक्त अवसरमा विश्वका प्रथम हिमाल आरोही फान्सेली नागरिक मोरिस हर्जोगको शालिक शिलान्यास गरिएको थियो भने अन्नपूर्ण प्रथम आरोहणका लेजन अफिसर कर्णेल घन विक्रम राणाको परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटरको रहेको छ । यो सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

विश्वकै सर्वाेच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भए पनि आरोहणका दृष्टिले कठिन हिमालका रुपमा लिइन्छ । विश्वकै दश उत्कृष्ट पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग हालको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा पर्दछ ।

नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गर्दछन् । गत वर्षको तथ्याङ्क अनुसार अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्ने विदेशीहरूको संख्या २८ हजार ५३१ रहेको थियो ।