काठमाण्डौ – सरकारको नेतृत्व गरिरहेको सत्तारुढ काँग्रेसकै सांसदले सत्ता साझेदार दर माओवादी केन्द्रका तर्फबाट गृहमन्त्री बनेका जनार्दन शर्माको राजीनामा माग गरेका छन्।
संसद बैठकमा काँग्रेस सांसद रामहरी खतिवडाले शरद गौचन हत्या प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
खतिवडाले शरद गौचन हत्याको विषयमा संसदलाई जानकारी नगराएको भन्दै गृहमन्त्री शर्माको आलोचना गरे। ‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ। जनताको शान्ति सुरक्षा गर्ने जिम्मा लिएको मान्छेले दिनदहाडै सुरक्षा दिन सक्दैन भने निर्वाचन पनि गराउन सक्दैन’, खतिवडाले भने, ‘यस्तोमा संसद र प्रदेशको निर्वाचन सम्भव छैन।’
कांग्रेसका सांसदहरू आफ्नै गठबन्धन सरकारका गृहमन्त्री विरुद्ध संसदमा खनिएका हुन्। माओवादी केन्द्र र काँग्रेसबीचको सहकार्य कायम राख्ने कि तोड्ने भन्ने विषयमा काँग्रेसको बहस भैरहेको छ। एमालेसँग तालमेल गर्ने माओवादीलाई सरकारबाट हटाउनुपर्ने मत काँग्रेसमा उठिरहेको छ।
काँग्रेसकै अर्का सांसद रोमी गौचन थकालीले पनि संसद बैठकमा संसद भवनबाट ३०० मिटरको दूरीमा भएको गोलीकाण्डलाई चानचुने घटनाको रुपमा लिन नहुने बताए। साथै गृहमन्त्रीसँग छानविन र अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरे। उनले प्रहरी भित्रको भ्रष्टाचारका कारण छानविन प्रभावकारी हुनेमा आफूलाई शंका लागेको बताए।