नेकपा माओवादी केन्द्रको नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी


काठमाण्डौ –  नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल भएको छ । बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा एमाले सहितका बाम पार्टीहरुबीच एकता तथा सम्भावित तालमेलकाबारेमा छलफल भएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई एकताको लागि छलफल गर्ने जिम्मा दिएको पनि भुसालले बताइन् ।

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निश्कर्षमा पुगेको हो । यसका लागि मंगलबार नै एमालेसँग तीन नेताले छलफल गर्ने पनि माओवादी स्रोतले बतायो ।

एमालेको निर्णय लगत्तै भएको माओवादी केन्द्रको यो निर्णय दुई पार्टीबीच तत्कालै पार्टी एकता नभए पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्य गर्ने देखिएको छ । एमाले र माओवादी केन्द्र यो निर्णयले गैरबामदलहरुलाई एक्ल्याउने स्पष्ट संकेत देखा परेको छ ।