पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन” पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका १ बगरस्थित जिल्ला वन कार्यालय कास्की अगाडि चिया पसलमा बसेर चिया खाँदै गरेको अवस्थामा प्रहरीले मंगलबार बिहान पक्राउ गरेको प्रहरीको भनाई छ ।
जगनलाई वडा प्रहरी कार्यालय बगर पोखरामा राखिएको प्रहरीको भनाई छ । उनलाई किन पक्राउ गरिएको हो भन्ने बारेमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन । तर पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सोमबार भेटिएको सिलिण्डर बमसँग समबन्धित रहेर सोधीखोजी गर्न उनलाई पक्राउ गरिएको हुनसक्ने उनसगँ सम्बध पार्टी नेताको भनाई छ ।
पोखराको सस्तोबजारमा रहेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो । तर नेकपा कास्कीका ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले सोमबार राती नै एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त बम आफूहरुले नराखेको बताएको थियो । तर प्रहरीले हिजो नै नेकपा कास्की जिल्ला कमिटी सदस्य गोबिन्द ओली र सहायक संगठन राष्ट्रिय जनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राईलाई पनि पक्राउ गरको विज्ञप्तीमा उल्लेख छ ।