लमजुङ – ठाडो भाकाका जिउँदा इतिहास मानिंदै आएका ठाडोभाका शिरोमणि भेडीखर्के साइँला (दीर्घराज अधिकारी)को निधन भएको छ । ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित सुन्दरबजारमा उहाँको सोमबार साँझ ५ ः ३५ बजे निधन भएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षकसमेत रहनु भएका उहाँ जेठी छोरी लीला र ज्वाइँ शम्शेर लौडारीको साथमा सुन्दरबजारमा बस्दै आउनुभएको थियो ।
भदौ २० गतेमा उहाँको उपचारका लागि काठमाडौँ लगिएको थियो । वीरअस्पतालमा गरिएको ३६ घण्टाको उपचारपछि आफै शौचालय जान सक्ने अवस्थामा फर्कनुभएपछि उहाँलाई लमजुङ ल्याइएको उहाँका ज्वाइँ एवम् ठाडोभाका लोककला प्रतिष्ठानका सदस्य शम्शेर लौडारीले बताउनुभयो । उहाँका अनुसार साइँलालाई दमका साथै ज्वरो, खान मन नहुने आदि समस्या थियो । लौडारीका अनुसार उहाँको शरीरमा पानीको मात्रा निकै कम रहेको चिकित्सले बताएका थिए ।
सोमबार बिहान १० बजेबाट उहाँको स्वास्थ्यमा अचानक गिरावट आएको थियो । उहाँको बचन बस्नुका साथै मानिसलाई चिन्न छाड्नुभएको थियो । उहाँको स्वास्थ्य स्थिति बुझ्न र उपचारका लागि सदरमुकाम स्थित जिल्ला अस्पतालमा भने पनि लगौँ भन्ने अनुरोध गर्न पुग्नु भएका ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी र सचिव कृष्ण आलेसँग उहाँकी छोरी लीलाले करिब २० दिनअघि उहाँले आफू यो वर्ष नबाँच्ने भएको भन्दै आफूसँग ‘मलाई तिमीहरूको काखमा मर्न दिंदैनौ ?’ भन्नुभएको सम्झनुभयो । बुबाले यो घर छाडेर कतै जान्न भन्नुभएको छ, त्यसैैले उपचारका लागि अन्यत्र लग्न पर्दैन । उहाँले भन्नुभयो ।
यसै बीच, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले एक शोक वक्तव्य प्रकाशित गर्नु हुँदै उहाँको निधनले गहिरो दुःख लागेको बताउनु भएको छ । नसोचेको घट्ना बेहोर्नु परेको उल्लेख गर्दै उहाँको निधनले नेपाली लोककलाका क्षेत्रमा ठूलो नोक्सानी भएको बताउनु भएको छ । ञठाडोभाका शिरोमणि जस्तो व्यक्तित्वलाई समय छँदै राज्यले चिन्न नसक्नु दुःखद स्थिति होझ विज्ञप्तिमा उल्लेख गरिएको छ । शोक वक्तव्यमा उहाँले स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्राञ्जली अर्पण गर्नु भएको छ । भेडीखर्के साइलाको अन्तिम संस्कारका लागि भोलि विहान शवयात्राका साथ पाउँदी आर्यघाट लगिने वक्तव्यमा उल्लेख छ ।
प्रतिष्ठानका तर्फबाट नेपाल सरकारसँग औपचारिक रूपमा ञठाडोभाका शिरोमणिझ उपाधी दिन माग गरिएकोमा संस्कृति मन्त्रीको सकारात्मक प्रतिक्रियासहित कुरा भइरहेको अवस्थामा भएको उहाँको निधनले अझै चोट थपेको अध्यक्ष पहाडीले बताउनुभयो ।
लमजुङको सिन्दुरेमा वि. सं. १९९० भदौ २९ गते आमा नन्दकुमारी र बुबा बलभद्र अधिकारीका साइँला छोराका रूपमा जन्मिनुभएका उहाँका श्रीमती, १ छोरा र ३ छोरी हुनुहुन्छ । उहाँकी जेठी श्रीमतीको यसअघि नै निधन भैसकेको छ ।