काठमाडौं – सुत्रिन्त्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरदैलो गर्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने थाहा छैन ।
सँगैका अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान ‘म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है’ भन्दैै मतदातालाई आग्रह गर्छिन् ।
मतदातामाझ भेटिएकी उनीसँग जिज्ञासा राख्दा उनले चुनाव लडेको वडा र मतदान गर्ने सही तरिका बताउन सकिनन् ।
सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनविज्ञ छिन् ।
सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवारी दिएकी माओवादीकै हीरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।