काठमाडौं – सोमबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । आज पनि अधिकांश दैनिक पत्रिकाहरु प्रदेश २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनकै वरिपरि घुमेका छन् । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदाता आफूतर्फ तान्न लागिपरेको पत्रिकाहरुको ठम्याइ छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८८ किलो सुन बरामद गरे पनि राजनीतिक दलहरुले यसबारे धारणा सार्वजनिक गरेका छैनन् । आजका केही पत्रिकाहरुले दलहरु सुन बरामदबारे मौन बस्नुको कारण खोतलेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद्लाई थप जम्बो बनाएको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् । आयल निगमभित्रको घोटाला, बर्मेली शरणार्थीका पीडालगायतका विषय आजका पत्रपत्रिकाका पहिलो पृष्ठमा पोखिएका छन् ।