टिकट वितरणमा विवाद हुँदा कांग्रेस कार्यकर्ता आपसमै भिडे, १२ जना घाईते


सिरहा – टिकट वितरणको विषयमा विवाद हुँदा कांग्रेस कार्यकर्ता आपसमै भिडेका छन् । घट्नामा १२ जना घाईते छन्, तीमध्ये १० को अवस्था गम्भीर छ ।

विवाद मिलाउन संस्थापन र रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीचमै छलफल चलिरहँदा घट्ना भएको हो ।

रिहा नगरपालिकाको टिकट विवाद सुल्झाउन बुधबार छलफल डाकिएको थियो । कांग्रेस सिरहा सभापति रामच्नद्र यादप, सांसद पद्मनारायण चौधरी, गणेश मण्डल र मोख्तार अहमदले असन्तुष्टसहित दुवै पक्षलाई बोलाएर विवाद मिलाउने प्रयास गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

आक्रमणमा सिरहा नगरपालिका २१ का कांग्रेस क्षेत्र नम्वर ३ का सभापति सन्जयप्रकाश यादव, सिरहा १५ का रामबाबु यादव, २ नम्वर वडाका सुधन यादव, मुकेश, वुधन, अरुण, राजेश्वर, देवनारायण साह, १ नम्वर वडाका जगदीश यादव, कामेश्वर यादव घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सिरहा १ का रामभगत यादव र साने यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैतर्फको आक्रमणबाट तनाव बढेपछि प्रहरीले दिउँसो स्थिति नियन्त्रण लिएको थियो ।

‘सिरहा नगरपालिकामा मेयरको टिकट सुभास यादवले पाएपछि वडासहित मेयरकोको विषयमा कांग्रेस जिल्ला सचिव उपेन्द्र यादव पक्षबीच विवाद बढेको थियो’ सभापति रामचन्द्र यादवले भने ‘छलफलकै क्रममा हाताहाल र आक्रमण हुनु राम्रो काम होइन, यो पार्टी हितविपरीत छ ।’

घाइते सिरहा क्षेत्र नम्वर ३ का सभापति सञ्जयप्रकाश यादवले दुई पक्षबीच सहमति हुनलाग्दा आफूहरुमाथि आक्रमण भएको बताए । कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएपछि सिरहा नगरपालिकामा उम्मेदवार मनोनयन दर्ता समेत ढिलाई भएको थियो । राति अबेरसम्म सिरहामा मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।