काठमाडौँ – दोस्रो चरणको चुनावमा होमिएको नेपाली काँग्रेसका लागि राष्ट्रिय जनता पार्टी नेपाल चुनौति बनेको छ । पहिलो संविधानसभामा तेस्रो र दोस्रो संविधानसभामा पहिलो पार्टी बनेका नेपाली काँग्रेस दुई चरणमा सम्पन्न स्थानीय तहको चुनावमा दोस्रो स्थान हासिल गरेको छ । र, दोस्रोबाट पहिलो हुन दुई नम्बर प्रदेशमा काँग्रेस नेताहरु मधेशमा सक्रिय भएका छन् ।
दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारको समेत टुङ्गो लगाइसकेको छ र त्यसलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्ने तयारी भइरहेको छ । साउन ५ गते राजधानीमा भएको दुई नम्बर प्रदेशको भेलामा सभापति देउवाले मधेशमा एक सय सीट जितेमात्र स्थानीय तहका लागि देशमा पहिलो पार्टी बन्ने धारणा राखेका थिए । दुई नम्बर प्रदेशमा १३६ वटा तहमा चुनाव हुन लागेको छ ।
काँग्रेसको आधारभूमि क्षेत्र मधेशको रहेको कुरा पटक–पटक भएको चुनावले पुष्टि गरेको छ । मधेशको मतले नै गर्दा काँग्रेसलाई ठूलो र सानो पार्टी बनाउने गरेको छ । त्यसैले नेपाली काँग्रेसका नेताहरु मधेश जाँदा ‘लोकतन्त्र, मधेश र काँग्रेस’ एक अर्काको परिपूरक रहेको धारणा राख्छन् ।
जब–जब मधेशले काँग्रेसलाई पत्याउँछन्, पार्टी संसदमा सबैभन्दा ठूलो पार्टी बन्छ, मधेस रिसाए काँग्रेसको स्थान खस्किने गरेको छ । त्यसका लागि धेरै टाढा जानै पर्दैन । लोकतान्त्रिक संविधान निर्माणका लागि दुई पटक भएको संविधानसभाको चुनावको तथ्यांकलाई केलाउँदा प्रष्ट हुन्छ ।
२०६४ मा भएको संविधानसभा चुनावमा नेपाली काँग्रेस तेस्रो दलको रुपमा आउनुको कारण मधेश आन्दोनल थियो । त्यतिबेला पहिलो मधेश आन्दोलनको रापताप मधेशमा थियो । नेपाली काँग्रेसको सरकार हुँदा भएको आन्दोलनका कारण मधेशी जनता सोही दलप्रति बढी आक्रोशित थियो । र, त्यो आक्रोश मतदानमा देखाइदिए ।
तर, दोस्रो संविधानसभा चुनावको बेला मधेशमा आन्दोलन थिएन । आन्दोलन गरेर जन्मेका मधेशी दलहरु सत्तामा रमाइरहेका थिए । त्यही भएर मधेशी जनताको आक्रोश ठूला दलभन्दा मधेशवादी दलमाथि नै देखियो । त्यो चुनावमा नेपाली काँग्रेस सबभन्दा ठूलो पार्टी बनेर आयो, मधेशी दलहरु साँघुरिए ।
यसपाली पनि काँग्रेसका लागि त्यही अवस्था सृजना भएको छ । दुई नम्बर प्रदेश अर्थात मधेशमा नेपाली काँग्रेस, राजपा नेपाल र फोरम नेपालबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेसकै मत राजपा नेपाल र फोरम नेपालको मत हो र राजपा नेपाल र फोरमकै मत काँग्रेसको हो । त्यो मतलाई जसले आफ्नोतर्फ तान्न सक्छ त्यो ठूलो पार्टीको रुपमा आउनेछ ।