काठमाडौं – बाढीका कारण केही दिनअघिसम्म सुस्त देखिएका प्रदेश नं. २ का जिल्लामा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि सहभागी भएपछि चुनावी रौनक बढेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । ‘प्रमुख दलहरुले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणको निर्वाचनको तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रुपमा लिएका छन् । उनीहरुबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी चलेको छ,’ आजका पत्रिकाहरुले प्रदेश २ को चुनावी चहलपहलको विश्लेषण गर्दै लेखेका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब हुने निर्वाचनहरुमा आचारसंहिता पालनामका शून्य सहनशीलताको नीति अपनाइने भनेर व्यक्त गरेको भनाइलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै स्थान दिएर छापेका छन् ।
आयल निगम जग्गा घोटाला प्रकरणदेखि बाढीपीडितका दुःख आजका पत्रपत्रिकामा पोखिएका छन् ।