प्रदेश नम्बर २ को चुनावमा एमालेलाई एक्ल्याउने कांग्रेसको दाउ


काठमाडौ–नेपाली कांग्रेसले प्रदेश नं २ को निर्वाचनमा एमालेलाई एक्ल्याउने दाउ बनाउने तयारी गर्दैछ । काग्रेसका नेता एनपी साउदले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेबाहेक सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने गरी तयारीलाई तिब्र बनाएको स्पष्ट पारेका हुन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा साउदले भने,‘ पहिलो र दोस्रो चरणको निर्वाचन जस्तै तेस्रो चरणको निर्वाचनमा पनि कागं्रेसले तालमेल गर्छ तर नेकपा एमाले बाहेकका दलहरुसँग मात्रै ।’
उनले कांग्रेसले पहिलो प्राथमिकतामा राजपासँगको तालमेललाई राखेर छलफल गरिरहेको भन्दै माओवादी र अन्य मधेसवादी दलहरुसँग पनि तालमेल हुन सक्ने स्पष्ट पारे ।
साउदले दुई नम्बर प्रदेशको निर्वाचनमा तालमेल गर्नेगरी राजपासँग नेता विमलेन्द्र निधीले कुराकानी गरिरहेको भन्दै अब प्रधानमन्त्रीले पनि छलफल थाल्ने बताए ।

साउदले प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै सम्पन्न भारत भ्रमण ऐतिहासिक भएको दावी गर्दै बीपी कोइराला पछि भारतसँग नेपालको राष्ट्रिय स्वार्थमा सिधा कुरा राख्न सक्ने नेता देउवा भएको दावी गरे ।

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिन सक्षम रहेकोले अरु चुनाव जस्तै प्रदेश नम्बर २ को चुनावमा पनि कुनै दलसँग तालमेल गर्ने पक्षमा नभएको स्पष्ट पारे ।
उनले भने,‘ जो जो मिलेर आएपनि हुन्छ । जनता एमालेका पक्षमा छन । जस्तो सुकै गठबन्धन बनाएपनि मधेसका जनताले तिनीहरुलाई पराजित गर्दिन्छन ।’
उनले थपे,‘एमाले कोहीसँग पनि तालमेलको पक्षमा छैन । मधेसमा एमाले मात्रै एमाले मात्रै एक्लै लडन तयार छ ।’
पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले इतिहासमै सबैभन्दा मुलुकको बेईज्जत गरेको दावी गर्दै यसले राष्ट्रको शिर निहुँ¥याएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा माओवादीको प्राथमिकता नेपाली कांग्रेस र एमाले नभई मधेसका परिवर्तनकारी शक्तिहरु भएको बताए ।
उनले मधेसमा माओवादी केन्द्र दोस्रो ठूलो दल बन्ने दावी गर्दै मधेसका परिवर्तनकारी शक्तिहरु संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल हुने बताए । यसको लागि ति दलहरुसँग छलफल सुरु भईसकेको उनले जानकारी दिए ।