सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्यूरी समयमा भारतका रिक्की जोहले प्रहार गरेको बल गोलरक्षक बिशाल सुनारले कलेक्ट गर्न नसक्दा डिफेण्डर सञ्जीव अर्यालले गोललाईनबाट क्लियर गरी गोलको खतरा टारेका थिए ।
पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले सोही लय दोस्रो हाफमा कायम राख्न सकेन । शारीरिक रुपमा बलिया भारतीय खेलाडीसामू नेपाली किशोरहरु कमजोर देखिन थाले ।
नेपालले दुपै गोल डिफेण्डरहरुको तालमेल मिल्न नसक्दा खाएको थियो । ५९औं मिनेटमा लालरोकिमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए । मध्यक्षेत्रमा नेपाली खेलाडीले उनलाई मार्क गर्नै भ्याएनन् ।
७५औं मिनेटमा भारतले अग्रता लियो । यस गोल पनि नेपाली डिफेण्डरको कमजोरीले भएको थियो । भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए ।नेपालले समूह चरणमा पनि भारतसँग २-१ कै पराजय व्यहोरेको थियो । सेमीफाइनलमा नेपालले बंगलादेशलाई ४-२ र भारतले भुटानलाई ३-० ले हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।