काठमाण्डौ – भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो। तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाको दोषीलाई कारबाही गरेको छ न छानबिनबारे नेपाललाई कुनै जानकारी नै दिएको छ।
यो पाँच महिनाको अवधिमा नेपालले पनि छानबिनबारे के भइरहेको छ भनेर भारतसँग सोधेको छैन। यसअघिका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीजस्तै कञ्चनपुरमा भएको ज्यादती पनि छानबिनको नाममा सेलाएको छ।
‘घटनाबारे छानबिन भइरहेको छ, सकिएपछि नेपाललाई जानकारी दिइन्छ’, गोविन्द गौतम मारिएको घटनाको घटनाको छानबिनबारे जिज्ञासा राख्दा काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीत शर्माले भनिन्। छानबिन कहिले सकिन्छ भन्ने प्रश्नमा उनले भनिन्,‘छानबिन हो कहिले सकिन्छ भन्न सकिन्न।’
गत फागुन २६ गते एसएसबीले चलाएको गोली लागि कञ्चनपुरको आनन्दबजार नजिक गोविन्द गौतमको मृत्यु भएको थियो।
गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतम आफ्नो श्रीमानलाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात कारबाही गर्ने भन्ने सुनेको तर अझैसम्म कारबाही नहुँदा आफूलाई पीडा भएको बताउँछिन्।
अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन्। उनी सुदूरपश्चिमका हुन्। यसकारण लक्ष्मीलाई आफूले न्याय पाउने र दोषीमाथि कारबाही हुने आशा जागेको छ। प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणको सिलसिलामा बुधबार त्यसतर्फ जाँदैछन्। प्रधानमन्त्रीले आफू र आफूले जस्तै पीडा भोगेका नेपालीका आवाज भारतसमक्ष उठाउने लक्ष्मीको विश्वास छ।
‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो, सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पछिन सक्छ। त्यसैले म प्रधानमन्त्रीज्यूलाई सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भनिन्। आजको नागरिक दैनिकमा खबर छ ।