काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले मिडियालाई मर्यादित बन्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो अाग्रह गरेका हुन् । ‘वार्न गरेर क्रिटिसाइज गरेर जनमत बनाएर भएपनि दलहरुलाई त्यस अनुसार अगाडि बढ्न मिडियाले प्रेरित गर्दछ’, देउवाले भने, ‘बोल्ने, लेख्ने अधिकार, लिबर्टी संविधानले दिएको छ। यसलाइ हामीले बचाउनुपर्छ। मर्यादित पनि हुनुपर्छ।’
उनले आफूले मिडियालाई शक्तिको रुपामा बुझेको बताए। ‘मिडिया इज पावर’, देउवाले भने, ‘कन्सट्रक्टिभ र मर्यादित रुपमा अगाडि बढ्नुपर्छ।’ उनले नेपालमा पत्रपत्रिका र मिडिया सञ्चालन गर्न सहज नभएको बताए। उनले आफूलाई सबैभन्दा धेरै पत्रपत्रिका भएको देश नै नेपाल भएको जस्तो लाग्ने गरेको समेत खुलाए।
उनले मर्यादित र ‘प्रेस फ्रिडमलाइ कन्सट्रक्टिभ’ बनाएर प्रजातन्त्र सुदृढिकरणमा सहयोग गर्न पत्रकार महासंघलाई शुभकामना दिए।
व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनमा भाग लिन देशभरबाट छानिएका १ हजार ५ सय प्रतिनिधि सहभागी भएका छन् ।
नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निवर्नचित गर्नेछ । त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।
यस पटकको महाधिवेशनमा कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य उम्मेदवार भएका छन् भने एमालेनिकट प्रेस चौतारीबाट तीर्थ कोइराला अध्यक्षका उम्मेदवार बनेका छन् ।