– वसन्त रानाभाट
स्पेनको पर्यटकीय शहर बार्सिलोनामा आतंककारी हमलाको ४८ घण्टा पछि हाम्रो टोली घटनास्थल पुग्यो। १ दशमल २ किलोमिटर लामो राम्बलास सडकमा मान्छेहरुको झनै ठुलो भिड थियो। आतंकबाद बिरुद्दको सन्देश स्वयं भिड आँफै बोलिरहेको थियो।
संसारका थुप्रै मुलुकहरुबाट श्रदाञ्जली ब्यक्त गर्नेहरुले आ-आफ्नो ढंगबाट सडकमा केहि कोरिरहेका थिए। नजिकै रहेको सेतो चक हातमा लिएर हामीले पनि लेख्यौ। बार्सिलोना दुख्दा नेपाललाई पनि पिडा भएको महशुस पोख्यौ। हाम्रा पाठकहरुका लागि केहि तस्बिरहरु पनि लिनु थियो तर हाम्रो नजरलाई त्यहाँ राखिएका तस्बिरले खिचिरहेको थियो।
एउटा मुटु आकार बनाएर आँशु झरिरहेको तस्बिर सँगै यस्तो लेखिएको थियो।”तिमिहरु हाम्रो हृदयका आँशुहरु हौ।” मृत आत्माहरुको सम्झनामा लेखिएका यी भावनाहरुले धेरैलाई भाबुक बनाईरहेको पायौ। अर्को तर्फ एउटा रुखको भित्तामा टाँसिएको सन्देशले बोल्दै थियो,” हामी कत्ति पनि भयभीत छैनौ” ।
जुन सडकमा धेरै मानिसहरुको रगत बग्यो,त्यहि सडकमा बार्सिलोनासँग ऎक्यबद्दता जनाउँदै बिश्वका प्राय सबै भाषाहरुमा माया सद्भाव र भावाना कोरिएको भेट्यौ। सडकको बीच भागमा मैन बत्तीहरु जलीरहेका थिए भने पुष्पगुच्छाहरुले सडक भरीएको थियो। त्यसो त जहाँ -जहाँ मृत शरीर ढलेका थिए,त्यही त्यही आँफन्तहरुको आ-आफ्नो सन्देश पनि थियो।
हनिमुनका लागि बार्सिलोना आएका एक जोडीको प्रेम लुटिएको जीवन कथा हो बार्सिलोना घटना।अमेरिकाको क्यालीफोर्नियाबाट हनिमुनका लागि आएकी हाईडीले आफ्ना श्रीमान जारेट टुकरलाई यही घटनामा गुमाईन्। आतंककारी हमलामा आँफू बाँचेकी हाईडीको पिडालाई अहिले बार्सिलोना सडक बोलिरहेको छ। त्यसैले त सडकमा कोरिएको छ,”तिम्रो अभाव छ।” घटनामा १४ जनाले ज्यान गुमाए सय बढि घाईते बनेका छन्। यसरी नै सबैको आ-आफ्नै पिडा र कथा बोकेको राम्बलास सडकले ।
सडकमा रहेका रुखहरुमा डोरी लगाएर केहि पन्नाहरु पनि झुण्डाईएका थिए। सेता पन्नाका बिरह र प्रेमका भावानाहरु कोरिएका मात्र हैनन् बार्सिलोना प्रतिको साथ र ऎक्यबद्दतालाई पनि जोडिएको थियो।
शुक्रबार स्पेनका राजाको नेतृत्वमा प्रधानमन्त्री सहित उच्चपदस्थ सरकारी अधिकारीहरु घटनास्थल पुगेर श्रदाञ्जली ब्यक्त गर्दा ठुलो भिड देखिन्थ्यो। तर त्यसको भोलिपल्ट पनि शनिबार हामी पुग्दा पनि भिडमा कुनै कमी थिएन। त्यसो त राम्बलास यस्तो सडक हो,जसले ”मान्छेको भिड सधैँ बोकिरहेको हुन्छ।” तर यस्तो लाग्छ आज त्यो भिड सँगै पिडा र रोदन पनि बोकिरहेको छ।




















